ओखलढुंगा जीप दुर्घटना, मृतकको संख्या तीन पुग्यो

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : ओखलढुंगा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । थप उपचारको लागि काठमान्डौ लगिएका खोटाङ घर भइ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत प्रहरी जवान रुपन विष्टको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

यस्तै, अस्थायी प्रहरी चौकी रमितेमा कार्यरत थुलुङ दुधकोशी गाउँपालिका–२ काँगेल घर भएका ३६ वर्षीय प्रहरी हवल्दार भुपेन्द्र कार्की, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत झापाको मेचिनगर नगरपालिका–८ इट्टाभट्टा घर भएका प्रहरी जवान २२ वर्षीय मानिक राजबंशीको घटनास्थलमा नै मृत्यु थियो । सोलुखुम्बुका साहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्राईका अनुसार अन्य ६ जना घाइते भएका छन् ।

सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको प्रहरी सवार बा.१७ च. १०९४ नम्बरको डबल क्याप बोलेरो ओखलढुंगाको हर्कपुर भडारे खोलामा बुधबार बिहान करिब ९ बजे दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परि घाइते हुनेहरुमा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दहाल, प्रहरी बरिष्ठ हवल्दारहरु विशाल श्रेष्ठ र भुपेन्द्र खनाल र सवारी चालक इलामका लिला प्रसाद खनाल रहेको सोलुखुम्बु प्रहरीले पुष्टि गरेको छ । घाइते सबैको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि थप उपचारका लागि काठमाण्डौँको महाराजगञ्ज स्थित पुलिस अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालयको हातहतियार मर्मतका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट आज विहान ४ः३० बजेको समयमा प्रदेश प्रहरी कार्यालय विराटनगरका लागि छुटेको बोलेरो बे्रक फेल भई हर्कपुरको भडारे खोलामा दुर्घटना भएको सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले जानकारी दिनुभयो ।

उक्त घटनास्थलमा सोलुखुम्बुका प्रहरी जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक शाह सहितको टोली पुगेर उद्धार कार्यमा सहयोग गरेको थियो ।

घटना लगतै ओखलढुंगाबाट प्रहरी नायव उपरीक्षक सहितको टोली भडारे पुगेको थियो भने ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिल बहादुर तामाङले हेलिकोप्टर झिकाइ सकेको बताउँनुभएको थियो । तर घटनास्थलमा तत्काल हेलिकोप्टर नआउँदा उद्धार कार्य ढिला भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटना घटेको पाँच घण्टापछि मात्रै हेलिकोप्टर आएर बिरामीको उद्धार गरेको थियो । पाँच घण्टा सम्म सक्त घाइते भएकाले उदयपुरको हर्कपुर स्थीत एक मेडिकलमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार