सोलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिका–९ का निर्वाचित वडा अध्यक्ष भुपाल सिंं राई र वडा सदस्य सोम कुमार तामाङलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीको साधरण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ । पार्टीको जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक असिम राईले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका समिति सदस्य समेत रहेका भुपाल सिं र सोमकुमारलाई पार्टी सिद्धान्त विरित कार्य गरेकाले कार्वाही गरेको बताउँनुभयो ।
जनपक्षिय र पार्टी पद्धतिमा रहेर काम गर्न पटकपटक निर्देशन दिएको भएपनि पार्टी आचारण र जनहित विपरितका कार्यहरु प्रदर्शन गरेको, मुलुकका प्रतिगमनकारी शक्तिहरुसँग अनावश्यक साँठगाँठ गरि पार्टीलाई नै बद्नाम गराउने गरि अगाडी बढेको पाइएकाले कार्वाही गर्न बाध्य भएको माओवादी केन्द्रले जनाएको छ ।
सोही विज्ञप्ति मार्फत उक्त कार्बाही प्रतिगमनका मतियारहरुलाई मात्र भएकोले विचलित नभई नजिनिदै गरेको स्थानीय चुनावमा सोलुखुम्बुमा नेकपा माओबादी केन्द्रलाई पहिलो पार्टी बनाउने दिशामा अग्रसर भएर काम गर्न अपिल समेत गरिएको छ । ट्रेकिङ व्यवसायमा रहेका भुपाल सिं राईलाई माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार बनाएको थियो ।