सोलुखुम्बु : नेकपा (माओवादी केन्द्र) नेचासल्यान गाउँपालिकाले “जनताको साथमा माओवादी नेचासल्यानको समृद्धि” अभियान सञ्चालन गर्ने भएको छ । बुधबार गाउँ समितिका अध्यक्ष सिताराम भट्राईको अध्यक्षतामा सम्पन्न बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमले उक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
साथै बैठकले निर्वाचन केन्द्रित विभिन्न समिति गठन गरेको पार्टीका प्रदेश प्रतिनिधि भुपेन्द्र कटेलले जानकारी दिनुभयो । बैठकले अनुगमन समिति, प्रचारप्रसार समिति, घोषणा–पत्र मस्यौदा समिति समेत गठन गरेको छ । बैठकमा केन्द्रीय सदस्य एबम पार्टीका जिल्ला इन्चार्ज हेम कुमार राई (सुरवीर) जिल्ला सचिव नाम्गेल शेर्पा, नेता गोम्बु शेर्पा, सह–इन्र्चाज हिमाल गिरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
अन्य पार्टी परित्याग गरि १७ जना माओवादीमा प्रवेश
नेकपा एमाले र नेपाली काँग्रेस परित्याग गरि १७ जना स्थानीय नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा वडा अध्यक्ष पदका उम्मेद्वारहरु रहेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेचासल्यान गाउँपालिका–३ का वडा अध्यक्ष पदका उम्मेद्वार चक्र राई, वडा नं.४ का उम्मेद्वार डिल्ली राई, नेकपा एमाले साविक नेताबेतघारी वडा नं. ९ टोल समिति अध्यक्ष देश बहादुर राई लगायत नवप्रवेशीलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज हेमकुमार राई (शुरवीर)ले स्वागत गर्नुभयो ।