बलेवा : बागलुङका न्यून दृष्टि भएका अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्नुहने भएकाे छ । एक वर्षअघि सगरमाथाको आठ हजार मिटर उचाइमा पुगेर फर्किनुभएका उहाँले चैतमा पुनः सगरमाथा आरोहण गर्ने तयारी थाल्नुभएकाे हाे ।
आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष्य कायम रहेको जानकारी दिनुभयाे । जैमिनी नगरपालिका–४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भए पनि आर्थिक अभाव परेकाले सहयोगी मनलाई सहयोग गरिदिन आग्रहसमेत गर्नुभएकाे छ ।
“अघिल्लो पटक हावाहुरीका कारण बीचमा एक दिन रोकिन नपरेको भए म चुचुरोमा पुग्थेँ, अक्सिजन लिएर ४८ घण्टा बस्नुपर्ने, थप अक्सिजन लिने पैसा थिएन”, उहाँले भन्नुभयाे “यस पटक ५० हजार डलर खर्च हुन्छ, सहयोग गरिदिन म सबैसँग आग्रह गर्दछु ।” उनले नेपालमा सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको बताउँनुभयाे ।
केसीले लायन्स क्लब इन्टरनेशनल १०० वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अक्सिजन समाप्त भएर फर्किएको सुनाउनुभयाे । उहाँले भन्नुभयाे, “मैले त्यतिबेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिबेला पनि पुनः आउने भनेको थिए । अहिले सगरमाथा चढ्ने तयारी सुरु गर्दैछु ।”
सन् २०२१ मा उद्योग वाणिज्य सङ्घको झण्डा बोकेर आठ हजार मिटरमाथि पुगेका केसीले अक्सिजन र पैसा सकिँदा फर्किनुपरेको गुनासो गर्नुभयाे । मानसिकरुपमा तयारी अवस्थामा भए पनि आर्थिक अभावको कारणले यो अभियान सङ्कटमा परेको उनले सुनाए । उहाँले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गर्नुभएकाे छ।