मन्त्री कार्कीद्वारा कारागारभित्र मानवअधिकार प्रवर्धनमा जोड 

  नेपालन्यूजसाईट समाचारदाता

पाँचथर : प्रदेश नम्बर एक सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कारागारमा रहेका कैदीबन्दीको मानवअधिकार रक्षा हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार मन्त्रालयले पाँचथर कारागारमा आयोजना गरेको कारागारभित्र मानवअधिकार प्रवर्धन तथा कानूनी सचेतना कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कारागारमा रहेका कैदीहरूले अनुशासन वहन गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘यहाँ घरघरमा श्रीमान् श्रीमतीको झगडा हुन्छ । दुई चार जना बसो भने पनि झगडा हुन्छ । तर यहाँ तपाईँहरू मिलेर बस्नुभएको छ ।’
उहाँले यहाँ बस्दा होस्टेल बसाइका रूपमा लिन आग्रह गर्नुभयो । कारागारका भौतिक संरचना निर्माणमा सरकारले आवश्यक सहयोग गर्ने बताउँदै उहाँले कैदीबन्दीलाई कानूनी परामर्श लिन समस्या भइरहेकोले निःशुल्क कानूनी परामर्श सेवा उपलब्ध गराउने उल्लेख गर्नुभयो ।
मन्त्री कार्कीले जिल्लामा रहेका सुरक्षा निकायका प्रतिनिधिसँग जिल्लाको सुरक्षा स्थितिका बारेमा जानकारी लिनुभएको छ । तीनै सुरक्षा निकायका प्रतिनिधिसँग भएको छलफलमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पार्न उहाँले निर्देशन दिनुभएको छ ।
यस्तै उहाँले पाँचथरको विकाशका लागि प्रदेश सरकार लागि परेको बताउनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उहाँले जिल्लामा कांग्रेसको पकड बलियो बनाउँदै निर्वाचनमा विजयी गराउर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गठबन्द्यनको सरकार छ । यहीँका अर्थमन्त्री पनि हुनुहुन्छ । हामीले विकाश निर्माणका निर्णय सरकारबाटै गर्ने गर्छौ ।’
मन्त्री कार्कीले जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्ट्रन्सेसर प्रदान गर्नुभएको छ । कन्सन्ट्रेटरले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार