सोलुखुम्बु : शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सव–इन्जिनियर पवन कुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको माला सहित हातपात गरेका छन् । सोमबार दिउँसो करिब १ बजे मुखमा मास्क लगाएर नचिनिने भएर कार्यालयमा आएका १० जना युवाहरुले नाराबाजी सहित आफुलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवले बताउँनुभयो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियान (क्रान्तिकारी) सोलुखुम्बुले कार्यालयको मुख्य द्वारमा प्रेस विज्ञप्ति समेत टाँसेर कार्वाही गरेको जनाएको छ । विद्यार्थी संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा शिक्षा समन्वय इकाइका सव–इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंहले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।
कार्वाही हुनका कारणमा महाकुलुङ गाउँपालिकाको कैलाश आधारभूत विद्यालयबाट रु.१ लाख ९० हजार, पेल्माङ माध्यमिक विद्यालयबाट रु. ५० हजार, बाखोर र चेपेल आधारभुत विद्यालयबाट रु.३५/३५ हजार र खिरौले आधारभुत विद्यालयबाट रु.७५ हजार रुपैयाँ कमिसन लिएको र पटक पटक फिर्ता गर्न आग्रह गरिएपनि अटेर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विप्लव निकट कार्यकर्ताहरुले यस अघि पनि आफुलाई हातपात गरेको पीडित सव–इन्जिनियर यादवले बताउँनुभयो । सो समयमा आफुले आफ्नो कुनै कम्जोरी नभएका भन्दै कानुनी कारबाहीमा जान आग्रह गरेको उहाँको भनाई छ । घटनापछि फरार भएका विप्लव निकट कार्यकर्ताहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
यता सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारीले कानुनी कार्वाही गर्ने प्रशस्त आधार हुँदा हुँदै हातपात तथा अभद्र व्यवहार गरिनु गलत भएकाले कडाभन्दा कडा कार्वाही गरिने बताउँनुभयो । यदि सव–इन्जिनियर यादवले समेत कम्जोरी गरेको पाइएमा कानुन अनुसार कार्वाही गरिने सिडिओ शाहीको भनाई छ ।