सोलुखुम्बु : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), सोलुखुम्बुको नेतृत्वमा युवाहरुको वर्चस्व देखिएको छ । बिराटनगरमा माघ ११ गते सम्पन्न माओवादीको प्रदेश समितिको बैठकले जिल्ला र स्थानीय तहका नेतृत्वहरुको टुंगो लगाएसँगै पार्टीको नेतृत्वमा युवाहरुको बर्चस्व देखिएको छ ।
बैठकले असिम राईलाई जिल्लाको अध्यक्षमा चयन गरेको छ भने ठमनाथ पराजुली ‘ध्रुव’लाई जिल्लाको सह–इन्चार्जको जिम्मेवारी दिएको छ । युवाबाट केन्द्रीय सदस्य बनेका हेम कुमार राई ‘शुरवीर’ इन्चार्ज रहेका छन् भने राई र पराजुली दुवै जना युवाबाटै प्रदेश समिति सदस्य बनेका हुन् ।
थुलुङ दुधकोशी गाउँपालिकाको जननिर्वाचित अध्यक्ष समेत रहेका अशिम राईले यसअघि जिल्ला समन्वय सचिवको भूमिका निर्वाह गरिसकका छन् । उनि माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलनबाट प्रदेश कमिटी सदस्य बनेका थिए । जिल्लाको सह–इन्चार्जको जिम्मेवारी पाएका अर्का प्रदेश कमिटी सदस्य पराजुली यसअघि प्रदेश समितिको सह–सचिवमा निर्वाचन हुँदा पराजित भएका थिए ।
बैठकले जिल्लाका ८ स्थानीय तहहरुमध्ये खुम्बु पासाङल्हामु गाउँपालिकामा नाम्गेल शेर्पा, माप्यदुधकोशी गाउँपालिकामा गणेश कुमार राई ‘बसन्त’, सोताङ गाउँपालिकामा मदन कुमार राई, महाकुलुङ गाउँपालिकामा दिप किराती, थुलुङदुधकोशी गाउँपालिकामा दील बहादुर नेपाली ‘घनश्याम’, सोलुदुधकुण्ड नगरपालिकामा दावातेन्जी लामा, लिखुपिके गाउँपालिकामा डम्वर बहादुर बस्नेत ‘शान्त’, नेचा सल्यान गाउँपालिकामा केशर बहादुर राईलाई इन्चार्जको जिम्मेवारी तोकेको छ ।
इन्चार्जको जिम्मेवारी प्राप्त गर्नेहरुमा अधिकांश ४० वर्ष मुनिका युवाहरु रहेका छन् । त्यसैगरि यसअघि वडा तथा स्थानीय तहहरुको सम्मेलनबाट निर्वाचित अधिकांश नेतृत्व पनि ४० वर्ष मुनिका युवाहरु रहेका छन् । यसरी जिल्लामा नेतृत्व गर्ने जिल्ला इन्चार्जदेखि अध्यक्ष हुँदै स्थानीय तहका इन्चार्ज तथा अध्यक्षहरुको समुहलाई हेर्दा सोलुखुम्बुको माओवादी नेतृत्वमा युवाहरुको जबर्जस्त उपस्थिति देखिन्छ । आगामी दिनमा माओवादीको संगठनलाई उनिहरुले कसरी अघि बढाउँछन् ? त्यो भने भविश्यले नै बताउने छ ।