काठमान्डौ : आगामी बैशाखमा कुन चुनाव गर्ने भन्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्ने बताइएको छ ।
सत्ता गठबन्धन भित्र बैशाखमा संघीय संसदको निर्वाचन गर्ने कि स्थानीय तहको निर्वाचन गर्ने भन्ने विवाद बढेको छ । यही विवादका कारण बिहिबार बस्ने भनिएको समन्वय समितिको वैठक अन्तिममा रद्द गरिएको थियो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएपछि गठबन्धनको बैठक आज गर्ने तय गरिएको हो ।
प्रधानमन्त्री देउवा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने पक्षमा हुनुहुन्छ भने दाहाल र नेपाल संघीय संसदको चुनाव गर्नुपर्ने पक्षमा उभिनुभएको छ ।