सोलुखुम्बु : कोरोनाको संक्रमण बढ्दैगएपछि हिमाली जिल्ला सोलुखुम्बुमा ‘तपाईको मास्क खै’ अभियान पुन: सञ्चालन गरिएको छ । बिना मास्क हिड्नेक्रम संगै कोरोनाका संक्रमितको संख्या समेत बढ्न थालेपछि उक्त अभियानलाई पुन: सञ्चालन गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको अगुवाईमा सदरमुकाम सल्लेरी सहित ग्रामिण क्षेत्रका विभिन्न बजारमा समेत उक्त अभियान सञ्चालन गरिएको छ । कोरोना संक्रमणबाट बच्ने उपयुक्त उपाय मध्ये स्वास्थ्य सुरक्षा र सावधानीनै भएकाले जनचेतना अभिवृद्धि गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो ।
उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाही, प्रहरी नायव उपरीक्षक कवित कटवाल सहित ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, सञ्चारकर्मी लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो । बिहिबार देखि सुरु भएको कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ ।

मानिस सचेत भएको अवस्थामा हरेक जोखिमबाट मुक्त हुनेभएकाले जनचेतना पहिलो प्राथमिकता हुने प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीको भनाई छ । अधिकार सम्पन्न स्थानीय सरकार भएको अवस्थामा समेत प्रहरी प्रशासनले चालेको यो कदम प्रशंसायोग्य रहेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।

पछिल्लो केही समययता जिल्लाका अधिकांश क्षेत्रका नागरिकमा कोरोना संग मिल्दोजुल्दो लक्षण देखिनेक्रम बढेको छ । कोरोनाको सम्पुर्ण खोपको मात्र पुरा नभएकाले पनि कोरोनाको जोखिम उच्च रहेकाले सावधानी नअपनाएको अवस्थामा जटिल परिस्थिति सृजना हुन सक्ने स्वास्थ्य विद्ले बताएका छन् ।








