काठमाडौँ : सत्तारूढ राजनीतिक समन्वय समितिको बैठकले समयमै स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको छ । तर यस विषयमा थप गृहकार्य अर्को बैठक बस्ने नेताहरूले बताएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति गरेको हो । निर्वाचन आयोगले पनि वैशाखमा स्थानीय तह निर्वाचन गर्न सिफारिस गरेको थियो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले समयमै स्थानीय तहको निर्वाचन गर्नेबारे छलफल गरिएको बताउँनुभयाे ।
‘स्थानीय तहको चुनावलाई समयमै सम्पन्न गर्ने विषयमा छलफल केन्द्रीत भएको छ,’ सञ्चार मन्त्रीसमेत रहनुभएका कार्कीले भने, ‘संविधानमा व्यवस्था भएअनुसार नै चुनाव हुन्छ।’ उनले मिति घोषणा गर्नेबारे भने निर्वाचन आयोगसँग फेरि परामर्श गरिने जानकारी दिनुभयाे ।
‘निर्वाचन आयोगसँग परामर्श भइरहेको छ । फेरि आयोगसँग परामर्श गरेर हामीले संविधानले तोकेकै समयमा स्थानीय निर्वाचन सम्पन्न गरेर संघीयतालाई अझ मजबुद बनाउँदै र स्थानीय सरकारले जनतालाई प्रभावकारी रूपमा सेवा-सुविधा पुर्याउने विषयमा सरकार गम्भीर छ,’ मन्त्री कार्कीले भन्नुभयाे।
अर्को बैठकबाट स्थानीय तहको चुनावको मिति तय गर्ने तयारी छ । माघ ६ मा फेरि बैठक गरेर चुनावको मिति घोषणा गर्न सिफारिस गर्ने समितिको तयारी छ ।
तर, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बैठकमा उपस्थित नभएको स्थानीय तहको चुनावको मितिबारे निर्णय नभएको माओवादी नेता देवप्रसाद गुरुङले बताउँनुभयाे । ‘संवैधानिक व्यवस्था अनुसार चुनाव गर्ने भन्ने छ तर मितिका बारेमा टुंगो लागेको छैन । माधव नेपाल र उपेन्द्र यादव अनुपस्थित भएकाले सैद्धान्तिक छलफल मात्रै भयो,’ गुरुङले भन्नुभयाे ।
साथै माघ १२ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनबारे पनि आज छलफल भएको छ । रिक्त १९ पदमा सत्तागठबन्धनले भागबन्डा गरी उम्मेदवार उठाएका छन् ।
छलफलमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेताहरू उपस्थित थिए ।