पूर्वराजा ज्ञानेन्द्रले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्‍यार्पण

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरवारको पश्चिम मूलगेटमा रहेको राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पूर्व अध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गर्नुभयो । पृथ्वी जयन्तीको अवसरमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ ।

सो अवसरमा काठमाडौंमा भने साँस्कृतिक झाँकीसमेतको ¥याली प्रदर्शन गरिएको छ । ¥यालीमा उपस्थित भएकाहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन । विक्रम सम्बत १७७९ पुस २७ गते गोर्खामा जन्मिनुभएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक र दूरदृष्टियुक्त पाइन्छ । आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा पृथ्वीनारायण शाहलाई आज पुस २७ गते उहाँको सम्झनामा नेपालमा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । नेपालमा २००७ सालको क्रान्ति पश्चात् नेपालमा आएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया शुरु गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार