सोलुखुम्बु : नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिका पदकालागि दोश्रो चरणको मतदान यहि मंसिर १४ गते हुने भएको छ । नेपाली कांग्रेस सोलुखुम्बुको मंगलबार बसेको बैठकले सभापति चयनका लागि मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
पदाधिकारी चयनका लागि गत मंसिर २ गते पार्टीको निर्वाचन भएपनि सभापति चयन हुन सकेको थिएन । जिल्ला सभापतिमा तीन जनाको उम्मेद्वारी परेपछि कांग्रेसको विधान अनुसार कुनैपनि उम्मेद्वारले ५१ प्रतिशत मत ल्याउन नसक्दा नेतृत्व चयन हुन नसकेको हो ।
पार्टीको विधान अनुसार सभापतिमा दुई वा सो भन्दा बढी उम्मेद्वार भएको खण्डमा कुनै पनि उम्मेद्वारले कम्तीमा ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ । यदि ५१ प्रतिशत मत प्राप्त नगरेको खण्डमा सहमतीबाट सभापति चयन गर्न सक्ने र सहमती पनि नभएको खण्डमा पुनः निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।
जिल्ला सभापतिका लागि नाम्गेल जाङबु शेर्पा, विनोद कुमार बस्नेत र राम बहादुर बस्नेतको उम्मेद्वारी थियो । कुल मतदाता ९२४ जना मध्ये ८८२ मत खसेको थियो । जसमध्ये विनोद कुमार बस्नेतले ४२८ मत, नाम्गेल जाङबु शेर्पाले ४१८ र राम बहादुर बस्नेतले ५ मत प्राप्त गर्नुभएको थियो । सबै भन्दा कम मत प्राप्त गर्नुभएका उम्मेद्वार राम बहादुर बस्नेत स्वत बाहिएसँगै अबको निर्वाचनमा नाम्गेल जाङबु शेर्पा र विनोद कुमार बस्नेत बीच प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर २ मा सम्पन्न निर्वाचनबाट उपसभापति सहित जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जसमा संस्थापनइतर पक्ष हावी भएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २५ जना मध्ये २१ जना संस्थापनइतरपक्षका बिजयी भएका छन् भने ३७ जनाको जिल्ला कार्यसमितिमा पनि अधिकांस सोही समुहबाट निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री बलबहादुर केसी पक्षबाट निवर्तमान पार्टी सभापति समेत रहनुभएका बिनोद बस्नेतको नेतृत्वमा प्यानलको उम्मेद्वारी परेको थियो । यस्तै शेरबहादुर देउवा निकट मानिने पुर्वजिल्ला पार्टी सभापति आङ्गेलु शेर्पा पक्षबाट सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहनुभएका नाम्गेल जाङ्बु शेर्पाको नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा थियो । शेर्पा पक्षकै मानिने अर्का नेता रामबहादुर बस्नेतले प्यानलरहित उम्मेद्वारी दिनुभएको थियो ।