सोलुखुम्बु काँग्रेस अधिवेशन : सभापतिमा बिनाेदकाे अग्रता

  नेपालन्यूजसाईट समाचारदाता

सोलुखुम्बु : नेपाली काँङ्ग्रेस सोलुखुम्बुको कार्यसमिति चयनका लागि विहिबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । आज (शुक्रबार) बिहान ८ बजे देखि मतगणना सुरु गर्ने भनिएतापनि प्राविधिक कारण ढिला गरि गरि सुरु भएको हो ।

अपराह्न मतगणनाको तयारी गरिएपनि जिल्ला कार्यसमितिमा खसेको कुल ८८० मतपत्र हुनुपर्नेमा ८८२ मतपत्र र ८७१ वटा मतपेटीकामा एउटै निर्वाचन अधिकृतको हस्ताक्षर भएपनि ९ वटामा फरक पाइएपछि गन्दैनगनिकन स्थगित भएको थियो ।

यस्तै महाधिवेशन प्रतिनिधिको पाँच वटा मतपेटीका भएकोमा चार वटाको क्रमसंख्या मिलेको र एउटा मतपेटीकामा प्रयोग गरिएको क्रमसंख्या फरक भएपछि दुई समुह बीच बिबाद थियो । उक्त विषयमा सहमति जुटेसंगै अहिले राति करिब १० बजे देखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

पारम्भिक परिणाम अनुसार ७२ मत गन्दा सभापति पदमा बिनाेद कुमार बस्नेतकाे ३७ र नाम्गेल जाङ्बु शेर्पाकाे ३५ मत रहेकाे निर्वाचन समितिले जनाएकाे छ । जिल्ला सभापतिका लागि नेताहरु विनोद कुमार बस्नेत, नाम्गेल जाङबु शेर्पा र राम बहादुर बस्नेतको उम्मेद्वारी परेको भएपनि अन्तिममा रामबहादुर बस्नेतले आफ्नो पक्षमा मत माग्नुभएको थिएन । कार्यसमिति सहित अन्य पदमा मिश्रित परिणाम आउने भएपनि जिल्ला सभापतिमा कडा प्रतिस्पर्धा रहेको अनुमान गरिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार