काठमाडौं: अदालतको सहयोगी (एमिकस क्युरी) ले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिने भएको छ ।
गत मंगलबारबाट एमिकस क्युरीको बहस सुरु भएको थियो । पहिलो दिन बद्रीबहादुर कार्कीले र दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गर्नुभएको थियो खरेल र मैनालीको राय बाझिएको छ । खरेलले संविधानमा संसद विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको तर्क प्रस्तुत गर्नुभएको छ भने मैनालीले प्रधानमन्त्रीलाई अधिकार भएको जिकीर गर्नुभएको छ ।
एमिकस क्युरीमा नेपाल बार एसोशिएसनका तर्फबाट कार्की, खरेल र मैनाली तथा सर्वोच्च अदालत बार एसोसिएशनको तर्फबाट पूर्णमान शाक्य र गीता पाठक संग्रौला रहनुभएको छ । पाँच सदस्यीय एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरूमाथि फैसला सुनाउने छ ।
एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । ती रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।