सोलुखुम्बु : सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ को आफ्नै घरमा मृत अवस्थामा भेटिएकी युवतीको आत्महत्या नभई शुनियोजीत ढंगले हत्या गरेको माइतीपक्षले दावी गरेका छन् । असोज १४ गते घरभित्र झुण्डिएको अवस्थामा भेटिएकी १८ बर्षिया युवतीको आत्महत्या नभई हत्या भएको मृतकका बुबा कुमार केसीले दावी गर्नुभयो ।
मृतकको मुख र घाँटी लगायतमा चोट देखिनुका साथै कम्बर भन्दा तलको भाग भुइमा रहेकाले पनि परिवारकै सदस्यले हत्या गरेको उहाँको दावी छ । घटना घटेको तीन दिन अघि मात्रैपनि सासु आमाले तेरो मुखमा कात्रो आउने समय आयो भन्दै टेलिफोन गरेको मृतककी आमा इश्वरी के.सी.ले बताउँनुभयो ।
घटना भएकै दिन सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा रहेको माइतीबाट घर पुगेको एक घण्टा भित्र घटना घटेको भन्दै छानबीन गरि दोषिलाई कार्वाही गर्नुपर्ने माइती पक्षको माग छ । सोही माग सहित आज उनीहरुले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयम समेत धर्ना दिएका थिए । उनीहरुले मृतकको पति, सासु र ससुराको नाममा किटानी जाहेरी लिएर प्रहरीकोमा पुगेको भएपनि दर्ता नगरेको गुनासो गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक टेकुनन्द इवा लिम्बुले दवाबका लागि धर्ना दिन आवश्यक नरहेको बताउँनुभयो । प्रहरीले शुक्ष्म ढंगबाट अनुशन्धान गरिरहेको हुँदा दोषि पाईएमा कानुनको दायरामा ल्याउ कुनै पनि कदम बाँकी नराख्ने उहाँले सोलु एफ.एम.लाई बताउँनुभयो । जाहेरी दर्ता नगरेपनि प्रभावकारी अनुशन्धानलाई जारी राखेको उहाँको भनाई छ । Solu FM