शहीद स्मारक ‘ए’ लिग : थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गर्नुभयो । खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाउनुभयो । उहाले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाउनु भएको हो ।

त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाउनुभयो । उहाले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गर्नु भएको थियो । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थप्नुभयो। ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा एक सानत्वना गोल फर्काउनु भयो।

जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौ स्थानमा छ ।

खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उहाले रातो कार्ड पाउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार