चीनले भन्यो, साइबर अपराध रोक्न सहकार्य गरौं

काठमाडौं  : चीनले अन्तर्देशीय साइबर अपराध नियन्त्रणका लागि मिलेर काम गर्न नेपालसँग आग्रह गरेको छ । गृहमन्त्री रामबहादुर थापासहितको आठ सदस्यीय टोलीसँग सोमबार बेइजिङमा भेटवार्ताका क्रममा चिनियाँ स्टेट काउन्सिलर एवं सार्वजनिक सुरक्षामन्त्री चाओ ख चले यस्तो आग्रह गर्नुभयो  । गृहमन्त्री थापाको टोली ६ दिने चीन भ्रमणका लागि गत आइतबार साँझ बेइजिङ उत्रिएको थियो ।

गृहमन्त्री थापाले नेपालमा शंकास्पद गतिविधि गरिरहेका १२२ चिनियाँलाई चीनकै सहयोगमा पक्राउ गरिएको र उनीहरूलाई फर्काउन पहल भइरहेको जानकारी दिनुभयो । चिनियाँ मन्त्री चाओले उनीहरूलाई नेपालको कानुनअनुसार कारबाही गर्न आग्रह गर्नुभयो । साइबर अपराध रोक्न नेपालले गरेको प्रयासमा चीनको समर्थन रहने उहाले बताउनुभयो  । चीनमा पनि साइबर अपराध बढेकाले यो क्षेत्रमा सहकार्य गर्न सकिने र आवश्यक परेको खण्डमा नेपाललाई तालिम वा अन्य सहयोग उपलब्ध गराउने उहाको भनाइ थियो ।

बैठकमा सहभागी गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पक्राउ परेकालाई नेपालको कानुनअनुसार कारबाही गर्न सुझाव दिएको बताउनुभयो । पक्राउ परेका चिनियाँका हकमा नेपालको अध्यागमन विभागको कानुन आकर्षित हुने बताउँदै शर्माले भेटवार्तामा सीमापार अपराध नियन्त्रणका कुराहरू भएको बताउनुभयो । भेटवार्तामा मन्त्री थापाले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए । यसको चिनियाँ मन्त्रीले खुलेर प्रशंसा गर्नुभयो  ।

कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार