चिनियाँ नागरिक पक्राउ प्रकरण : देश निकाला गर्ने तयारी

काठमाडौं : नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ ।

प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरुपयोगसम्बन्धी कसुरमा कारबाही गरी निष्कासन गर्ने तयारी भएको हो । नेपालसँग सुपुर्दगी सन्धि नभएका मुलुकका नागरिक पक्राउ पर्दा यसरी गृह मन्त्रालयमार्फत निर्णय गराएर उनीहरूलाई स्वदेश पठाइने गरिएको छ ।

यस्तै, अपराधमा संलग्न आफ्ना नागरिक विदेशी भूमिमा पक्राउ पर्दासमेत सो देशसँग सन्धि नभएको खण्डमा यसैगरी नेपाल ल्याइने गरिएको छ । ७ पुसमा राजधानीका नौ वटा घरबाट नेपाल बसेर चीनमा आर्थिक अपराधका घटनामा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरूले नेपाल बसेर इन्टरनेटमार्फत चीनमा अर्थतन्त्र धराशायी बनाउने गरी गतिविधि गरेको, इन्टरनेटमार्फत जुवा खेलाएको र इन्टरनेटबाट नै यौनजन्य अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

अध्यायमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीतर्फको अनुसन्धान सकिएपछि चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरूमाथि अध्यागमन कानुन दुरुपयोग गरेको कसुरमा कारबाही प्रक्रियाअघि बढ्ने जानकारी दिनुभयो  ।

यसरी निष्कासन गर्ने आफ्ना नागरिकलाई लिन चीनले दुईवटा चार्टर विमान पठाउने तयारी गरेको छ । अभद्र व्यवहारको मुद्दाको अनुसन्धान सकिएपछि मात्रै विमान कहिले आउने भन्ने टुंगो लाग्नेछ ।

प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल र ३ सय ३१ थान ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो ।

राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार