काठमाडौं । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वभर १ अर्ब ४१ करोड अमेरिकी डलर (रू. १६१ अर्ब ८० करोड) बराबरको फर्सी र लौका आयात भएको छ । लौका र फर्सीका प्रमुख आयातकर्ता मुलुकहरू अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, जापान लगायत छन् । एशियाली देशहरूमा फर्सी र लौकाका प्रमुख आयातकर्तामा कतार पनि देखिन्छ ।
स्पेन र इटाली फर्सी तथा लौकाका प्रमुख आपूर्तिकर्ता हुन् भने हाल मेक्सिको र अस्ट्रेलिया समेत नयाँ आपूर्तिकर्ताका रूपमा देखापरेका छन् । नेपालले पनि कतारमा फर्सी र लौका पठाउन शुरू गरेको छ ।
गत आर्थिक वर्ष २०७५÷७६ मा थोरै भए पनि नेपालबाट कतारमा फर्सी र लौका निर्यात भएको छ । सन् २०१८ मा जापानले ७ करोड ८० लाख अमेरिकी डलर (रू. ९ अर्ब २ करोड) बराबरको लौका र फर्सी आयात गरेको छ ।
जापानमा लौका र फर्सीका प्रमुख आपूर्तिकर्ता मुुलुकमा मेक्सिको र न्यूजिल्यान्ड छन् । यसैगरी सोही वर्ष कतारमा १ करोड १४ लाख अमेरिकी डलर (रू. १ अर्ब ३० करोड) बराबरको लोका र फर्सी आयात भएको छ ।
कतारमा फर्सी र लौकाका प्रमुख आपूर्तिकर्ता मुलुकहरूमा भारत, इरान, बंगलादेश र पाकिस्तान छन् । पहिलो चरणमा यी दुई मुलुकहरू (जापान र कतार)मा नेपालका अग्र्यानिक फर्सी र लौका निर्यातका लागि उचित रणनीति अपनाउनुपर्छ ।
जापानी र कतारी उपभोक्ताको चाहना बमोजिम शुद्ध रैथाने जातका बीउबाट उत्पादित तथा विषादीमुक्त लौका र फर्सी ‘हिमालयन ब्रान्डमा’ उत्पादन गर्न सक्ने हो भने यी दुई मुलुकमा ठूलो बजार पाउन सकिन्छ ।
यसका लागि ती देशका बजारलाई लक्षित गरी गुणस्तरीय उत्पादन बढाउन आवश्यक छ । साथै उत्पादन प्रक्रियामा जापानी र कतारीहरूको निश्चित हदसम्मको संलग्नता पनि हुनुपर्छ । नेपाली कृषकलाई पर्याप्त अनुदान, प्रोत्साहन तथा संरक्षण र भूपरिवेष्टित मुलुक भएकाले ढुवानीमा अनुदान प्रदान गर्न पनि जरुरी छ ।
नेपाली लौका र फर्सीलाई अन्तरराष्ट्रिय बजारमा अन्य तटवर्ती मुुलुकका उत्पादनसँग प्रतिस्पर्धी बनाउन यस क्षेत्रलाई अनन्तकालीन करमुक्त क्षेत्र घोषणा गनुपर्छ । यसो गर्न सकेमा फर्सी र लौकाको निर्यात नेपाली अर्थतन्त्रका लागि वरदान सावित हुने निश्चित छ ।
-आर्थिक अभियानबाट