काभ्रे : विन्ध्यवासिनी माध्यमीक विद्यालय रोसी गाउँपालिका ९ रजबास काभ्रेको स्वर्ण महोत्सव विभिन्न कार्यक्रम गरि मनाईएको छ । महोत्सवको अवसरमा विद्यालय स्तरीय सामुहिक नृत्य, स्मारिका बिमोचन, सम्मान, छात्रबृत्ति प्रदान र विद्यालय भवन उदघाटन गरिएको स्थानीय प्रेरणा क्याप्छाकी मगरले जानकारी दिईन् ।
उनका अनुसार रोशी गाउँपालिका भित्रका खुल्ला विद्यालयस्तरीय सामुहिक नृत्य प्रतियोगीतामा विन्ध्यवासिनी माध्यमीक विद्यालय प्रथम भएको छ भने रोसी मावि दोस्रो र पञ्चकन्या मावि तेस्रो भएको छ । उक्त प्रतियोगीतामा ५ वटा विद्यालयको सहभागीता रहेको थियो । यस्तै सोही कार्यक्रममा तिर्थबहादुर रानामागरको नाममा स्थापना गरिएको अक्षयकोषको व्याजले तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई जनही ५ हजार छात्रबृत्ति समेत प्रदान गरिएको छ भने पुर्व प्रधानाध्यापकहरु र वर्तमान प्रधानाध्यापक सविता क्याप्छाकी मगरलाई समेत दोसल्ला ओडाई सम्मान गरिएको छ । यस्तै विन्ध्यवासिनी दर्पण स्मारीका समेत बिमोचन गरिएको छ ।
सोही अवसरमा २ वटा आरसीसी भवनको समेत उद्घाटन गरिएको छ । रु.१ करोड ७ लाखको लागतमा निर्माण सम्पन्न भएको ८ कोठे र रु.८० लाखको लागतमा निर्माण सम्पन्न भएको ५ कोठे उक्त भवनको एकैपटक उद्घाटन गरिएको विद्यालयका प्रधानाध्यापक सविता क्याप्छाकी मगरले जानकारी दिईन् । सम्पुर्ण कार्यक्रमको काभ्रे जिल्लाका संघिय सांसद गंगाबहादुर दोङले उद्घाटन गरे ।
एक बर्ष भित्र उज्यालो क्षेत्र बनाउने सांसदको घोषणा ।
कार्यक्रमलाई संबोधन गर्दै संसाद दोङले रोशी गाउँपालिका ९ लाइ एक बर्ष भित्र उज्यालो क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली प्रसाद रेग्मिको सभाअध्यक्षतामा भएको उक्त कार्यक्रमलाई संबोधन गर्दै प्रदेश सांसद रत्न ढकालले एक बर्ष भित्र तीन नम्बर प्रदेशमा एक नर्स एक विद्यालय कार्यक्रम सञ्चालन गर्ने बताए । उनले प्राविधिक शिक्षा सञ्चालन तथा दर्वन्दि मिलनमा सरकारले ध्यान दिईरहेको भन्दै विन्ध्यवासिनी माविलाई उच्च प्रथमीकतामा राख्ने बताए ।