दाहाल निवासमा छुट्टै बैठक, नेकपाभित्र गुट झाँगिदै

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक चलिररहँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल निवासमा भने समानान्तर बैठकको अभ्यास गरिएको छ । सोमबार दिउँसो स्थायी कमिटी बैठक सुुरु हुनुअघि दाहाल निवास खुमलटारमा पूर्वमाओवादी खेमाबाट स्थायी कमिटीमा रहेका नेताहरूलाई बोलाएर बैठक गरिएको थियो ।

स्थायी कमिटी बैठकमा कार्यकारी अध्यक्ष दाहालबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा पार्टीभित्र गुट मौलाउँदै गएकाले छुट्टै भेला गर्ने, बैठक गर्ने जस्ता कार्य बन्द गर्नुपर्छ भनेर उल्लेख भए पनि उनैबाटै त्यसको उल्लंघन भएको छ । ‘पार्टी संस्थागत छैन ।

बरु विभिन्न प्रकारका गुट झाँगिदै जान थालेका छन् । पार्टीभित्र घात, अन्तर्घात र अराजकताका प्रवृतिहरू बढिरहेका छन् । पार्टी अनुशासनको स्तर दयनीय अवस्थामा छ । पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा बढ्दै गएको छ ।

अलोचना, आत्मालोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ती गर्नेलाई दुरुत्साहन जस्ता सजीव र गतिशील कम्युनिस्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन,’ स्थायी कमिटिमा प्रस्तुत प्रतिवेदनमा लेखिएको छ ।

आफैंले तयार पारेका प्रतिवेदनलाई चुनौती दिँदै दाहाल स्वंयले पूर्वमाओवादी खेमाका नेतालाई निवासमा बोलाएर बैठक गरेको स्रोतले जनाएको छ । यस विषयमा प्रधानमन्त्रीसमेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कुनै जानकारी दिइएको छैन । स्वास्थ्यका कारण ओली स्थायी कमिटी बैठकमा उपस्थित भएका छैनन् ।

स्थायी कमिटी बैठक सुरु भएको दोस्रो दिन सोमबार बिहान दाहालले आफ्नै निवास पूर्वमाओवादी खेमाका नेताहरूलाई बोलाएर बैठक गरेका थिए ।

-नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार