पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत पोखरा पल्टनले चितवन राइनोजलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ७ रन बनायो ।
पोखराका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४५ रन बनाए । ३९ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरेका उनि अर्धशतकबाट मात्र ५ रनले चुके ।अर्धशतक नजिक पुगेका कप्तान शरद रोहन मुस्तफाको बलमा ‘कट एण्ड बोल्ड’ भए । सोहि ओभरमा प्रथमेश दाकेलाई मुस्तफाले अरिफको हातबाट सुन्य रनमा क्याच गराए ।यस्तै कुशल मल्लले १३ रन बनाउँदा आसिफ शेख, राशिद खान र रबि इन्दर सिंहले समान १०/१० रन बनाए । पोखराका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
चितवनविरुद्ध दोस्रो ओभरको तेस्रो बलमा पोखराले पहिलो विकेट गुमाएको थियो । कुशल भुर्तेल ५ रन बनाएर आउट भएका हुन् । उनलाई सन्नी पटेलले एलबीडब्लु आउट गराएका हुन् । चितवनका लागि पाँचौ ओभरको अन्तिम बलमा बिक्रम सोबले दोस्रो विकेट दिलाए । उनले आसिफ शेखलाई १० रनमा सन्नी पटेलको हातबाट क्याच आउट गराएका हुन् ।
पोखराले १० ओभरको चौथो बलमा आफ्नो तेस्रो विकेट गुमायो । चितवनका कप्तान पारस खड्काले रविइन्दर सिंहलाई १० रनमा बोल्ड आउट गरे । यस्तै रोहित कुमार पौडेल मात्र एक बल खेल्दा रन आउट भए । रशिदलाई करणले इनिङको अन्तिम बलमा पारसको हातबाट क्याच आउट गराए ।
चितवनका सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले समान २/२ विकेट लिए । यस्तै बिक्रम सोब, करण केसी र पारस खड्काले समान १/१ विकेट हात पारे ।आज पोखरा लगातार दोस्रो जित निकाल्दै अघिल्लो चरण प्रवशको यात्रा सहज बनाउन चाहन्छ ।
प्रतियोगिता अर्को दाबेदार टिम चितवनको भने यो पहिलो खेल हो । गत संस्करणमा चितवनलाई फाइनलमा पराजित गर्दै पोखराले उपाधि जितेको थियो ।