२८ दिनमा २ सय ३० को मृत्यु

काठमाडौँ। सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित मंसिरमा मात्रै तीन ठूला दुर्घटना भए । प्रहरीका अनुसार पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा परेर देशभर २ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।

मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए । दुर्घटनामा परी यो महिना घाइते हुनेको संख्या मात्रै १ हजार ४ सय २६ छ । साउनदेखि शनिबारसम्म ७ हजार ५ सय ५ दुर्घटना भएकामा १ हजार ३० जनाले ज्यान गुमाइसकेका छन् । यसमा पुरुष ७ सय ४४, महिला १ सय ९०, बालक ६० र बालिका ३७ जना छन् । घाइते हुनेको संख्या भने ७ हजार ९ सय ६१ जना पुगेको छ ।

पछिल्लो पाँच महिनामा १ हजार ३० सर्वसाधारणले ज्यान गुमाउँदा सरकारले एउटा पनि छानबिन समिति गठन गरेको छैन । सरोकारवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुर्घटनालाई थाहै नपाएजसरी मातहतका कार्यालय र प्रहरीसँग दुर्घटना न्यूनीकरणका लागि छलफलसमेत गर्न तम्सिएको छैन । ‘सबै घटनामा छानबिन सम्भव हुँदैन,’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भने, ‘पछिल्लो एक महिनामा भएको हरेक दुर्घटनाको जानकार छु । दुर्घटना न्यूनीकरण गर्न हामी नीतिगत सुधार गर्ने तयारीमा लागिरहेका छौं ।’

कुराकानीमा उनी दुर्घटना न्यूनीकरण योजना बनाइसकेको जसरी प्रस्तुत भए । दुर्घटना कम गराउने उपायसहितको योजना केही दिनमा सार्वजनिक गर्ने उनले प्रतिबद्धता जनाए । तर, एक वर्षअघि यातायात व्यवसायी र चालकलाई जिम्मेवार बनाउने गरी तयार भएको सवारी तथा यातायातसम्बन्धी विधेयकको मस्यौदामाथि छलफल अघि बढेको छैन । यातायात व्यवस्था विभागमा भएका यातायात निरीक्षक र मेकानिकल इन्जिनियर परिचालन गरेर दुर्घटनाको अनुगमन गर्नसमेत पठाइएको छैन ।

गत वर्षको तथ्यांकअनुसार दैनिक सात जनाले ज्यान गुमाउने गरेका छन् भने ४० जना घाइते हुन्छन् । तर, सरकारले दुर्घटनालाई सामान्य रूपमा लिने गरेको छ । ‘हाम्रो मुलुकमा भइरहेको घटना अरूको तुलनामा कमै हो । तर, गम्भीर रूपमा लिएका छौं,’ मन्त्री नेम्वाङले भने, ‘त्यसैले त गृह मन्त्रालय र मेरो मन्त्रालयले चासो देखाएकै कारण दुर्घटना न्यूनीकरणको योजना बनाइरहेका छौं ।’
कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार