पोखरा प्रिमियर लिगमा पोखरा पल्टनको सुखद सुरुवात

काठमाडौं । साविक विजेता टोली पोखरा पल्टनले दोस्रो सस्करणको पोखरा प्रिमियर लिग पीपीएल मा सुखद सुरुवात गरेको छ ।आइतबार भएको खेलमा पोखराले काठमाडौं गोल्डेन्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पोखरा रंगशालामा काठमाडौंले पोखरालाई दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४ ओभर १ बलमा १ विकेट गुमाउँदै १ सय १९ रन पूरा गरेको हो ।

पोखराका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । ओपनरमा आएका उनले ४३ बल खेल्दै ४ चौका र ५ छक्काको सहयोगमा ६५ रन पूरा गरेका हुन् । कुशलले ३४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।पोखराका लागि रवीन्द्र सिंहले ३८ रनको योगदान गरे । त्यस्तै पोखराका आसिफ शेख १४ रनमा पहिलो विकेटका रुपमा आउट भएका थिए । उनलाई पाँचौं ओभरको दोस्रो बलमा सुसान भारीले बोल्ड आउट गराएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो ।

काठमाडौंका लागि ओपनरका रुपमा आएका जयकिशान कोल्सावालालाई प्राथामेस डाकेले पहिलो विकेटको रुपमा आउट गराएका थिए । उनी तेस्रो ओभरको चौथो बलमा ९ रन बनाउँदै क्याच आउट भएका थिए । काठमाडौंले दोस्रो विकेटका रुपमा सुवास खकुरेललाई गुमाएको थियो ।

सुवासलाई चौथो ओभरको दोस्रो बलमा ६ रनमा ललित नारायण राजवंशीले आउट गराएका थिए । काठमाडौंले सुरुआती ४ ओभरमा दुई विकेट गुमाउँदै २१ रन बनाएको थियो । राशिद खानले काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्ललाई पाचौँ ओरको दोस्रो बलमा १ रनमा बोल्ड आउट गराएका थिए ।

गौरव तोमरलाई ललितले व्यक्तिगत दोस्रो विकेटका रुपमा १३ रनमा आउट गराएका थिए । पोखराका लागि १० ओभरको दोस्रो बलमा कुशल मल्लले पाँचौं विकेट लिए । उनले पवन सरार्फलाई ६ रनमा क्याच आउट गराएका थिए । कुशले १२ ओभरको तेस्रो बलमा व्यक्तिगत दोस्रो विकेट लिए । उनले पृथु बास्कोटालाई ७ रनमा क्याच आउट गराएका थिए ।

काठमाडौंका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका सुवोध भाटी ४५ रन बनाउँदै आउट भए । उनले १७ ओभरको तेस्रो बलमा सर्वजित लड्डाले क्याच आउट गराएका हुन् । लड्डाको बलमा आरिफले क्याच गरेका थिए । काठमाडौंका लागि वसन्त रेग्मीले ८ रन बनाएर आउट भए । त्यस्तै सुशान भारीले नट आउट १० रन र अमित भट्टराइले १ रन बनाए ।

आजको खेलमा जित निकाल्दै पोखराले प्रतियोगितामा आफूलाई बलियो सावित गरेको छ । साविकको विजेता समेत रहेको पोखराले यो सिजन पनि उत्कृष्ट सुरुआत गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार दुई खेलहरु हुँदैछन् ।

पहिलो खेलमा विराटनगर टाइटान्स र धनगडी ब्लुजले बिहान ९ बजे पहिलो खेल खेल्नेछन् भने दोस्रो खेल काठमाडौं गोल्डेन्स र बुटवल बलास्टरबीच १२स्४५ मा खेल हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार