‘ए’ डिभिजन लिग आजदेखि : मछिन्द्र र ब्रिगेड भिड्दै

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी)बीच प्रतिस्पर्धा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो।

लिगमा ‘ए’ डिभिजनका १४ क्बलबीच प्रतिस्पर्धा हुनेछ एन्फाले जनाएको छ। एन्फाले हरेक राउन्डमा सात खेल सञ्चालन गर्नेछ। पहिलो दिन एक खेल भए पनि आइतबारदेखि भने प्रत्येक दिन दुई खेल सञ्चालन हुनेछ। लिगका लागि १४ वटै क्लबले खेलाडी अनुबन्ध र तयारी सुरु गरेका छन्। दशरथ रंगशालामा साढे चार वर्षपछि लिग सञ्चालन हुन लागेको हो।

१३औं दक्षिण एसियाली खेलकुद (साग)को भव्य समापनसँगै दशरथ रंगशाला फेरि फुटबलमय बन्दैछ। २०७२ सालको विनाशकारी भूकम्पले दशरथ रंगशालामा क्षति पुगेका कारण त्यहाँ खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेको थियो। लिगमा कुल ९१ खेल हुनेछ। लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

एन्फाले यसपटक रेलिगेसनसहितको लिग सञ्चालन गर्न लागेको हो। एन्फाले फुटबलको माहोल बनाउने भन्दै गत वर्ष रेलिगेसनबिनाको लिग सञ्चालन गरेको थियो। गत वर्ष मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन बनेको थियो। मनाङ मस्र्याङ्दी क्लबले हालसम्म आठ पटक लिगको उपाधि जितिसकेको छ। ‘ए’ डिभिजन लिगको यो ४३औं संस्करण हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार