विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार साँझ विशेष बुलेटिन जारी गरी मुलुकभर पश्चिमी न्यूनचापीय मौसमी प्रणालीको प्रभाव रहेको र त्यही कारण शुक्रबार पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा भारी हिमपात हुने जनाएको छ। महाशाखाले शुक्रबार मध्य तथा पूर्वका उच्च पहाडीसहित हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुनेसमेत जनाएको छ। ‘मुलुकको पश्चिमी भूभागका केही स्थानमा शुक्रबार हावाहुरी आउनेसमेत सम्भावना छ,’ बुलेटिनमा छ।
महाशाखाले बुलेटिनमा पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले बुलेटिनमा शनिबारसमेत देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिम, मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने र उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ। विभागले मौसम बदली भएको र पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएकाले देशभर चिसो बढेको उल्लेख गरेको छ। महाशाखाले बिहीबार पूर्वी तराईमा सामान्य कुहिरो र हुस्सु लागे पनि आगामी २४ घण्टासम्म शीतलहरको सम्भावना नरहेको जनाएको छ। बुलेटिनमा बिहीबार पश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी हिमपात भएको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भएको जनाएको छ।
कान्तिपुर दैनिकबाट