तरकारीको भाउ आकाशियो, किन्नै छाडे ग्राहकले

काठमाडौं । राजधानीमा तरकारीको भाउ २ सय प्रतिशत सम्मले बढेको छ । अत्यधिक मुल्य वृद्धि भएपछि साना तरकारी बजार अहिले सुस्ताएका छन् भने ग्राहक पनि तातलिँदै गएका छन् । खाजा पसलमा भने मानिसको भीड बढेको छ। तरकारीको भाउ अत्यधिक हुन थालेपछि बिक्री घट्दै गएको छ। ‘साह्रै महँगो छ, ल्याएर पनि के गर्नु, बिक्री हुँदैन,’ एक तरकारी व्यापारीले भने, ‘मान्छेहरूले तरकारी किन्नै छाडिसके।’

उनले भनेजस्तै भाउ यसरी बढेपछि उपभोक्ताले तरकारीको मात्रामा कटौती गर्दै गएका छन्। सागपातदेखि काउली, बन्दाको भाउ अकासिएपछि उपभोक्ताले विकल्प खोज्न थालेका छन्। ‘तरकारी खानुभन्दा अन्डाकरी र दालसँग छाक टार्न थालेका छन् । तरकारी र कुखुराको मासुको मूल्य बराबरै भइसकेको छ।’

मूल्य तुलना गर्ने हो भने गत वर्ष यसै सिजनभन्दा यसपालि अधिकांश तरकारीको भाउ बढेको छ। दैनिक उपभोग हुने चल्तीका तरकारीको मूल्य ७० देखि २ सय प्रतिशतसम्म वृद्धि भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको बिहीबारको बजार दरभाउ अनुसार गत वर्ष मंसिर २६ गते प्रतिकेजी २५ रुपियाँमा बिक्री भएको लोकल बन्दागोबीको बिहीबारको खुद्रा मूल्य ७५ रुपैयाँ पुगेको छ।

स्थानीय उत्पादन भएका अधिकांश तरकारीहरुको पनि उच्च मूल्य वृद्धि भएको छ। गत वर्ष प्रतिकेजी ४५ रुपियाँमा उपलब्ध भएको तराईको काउली १ सय ७७ प्रतिशतले वृद्धि हुँदै यसपालि १ सय २५ रुपियाँ पुगेको छ। नेपाली ठूलो गोलभेडा १ सय ११ प्रतिशत वृद्धि हुँदै गत वर्ष प्रतिकेजी ४५ मा कारोबार भएकोमा बिहीबार ९५ रुपियाँ पुगेको छ।

स्थानीय बजारमा उपलब्ध अधिकांश सागको मूल्यमा पनि सत प्रतिशतभन्दा धेरै वृद्धि छ। पालुङ्‍गो साग, चमसुर साग, मेथी साग, स्थानीय काक्रोको मूल्य गत वर्ष प्रतिकेजी ५५ रुपैयाँ रहेकोमा यसपालि १ सय ९ प्रतिशतले वृद्धि हुँदै १ सय १५ रुपियाँ पुगेको छ।

धेरै मात्रामा प्रयोग हुने घिउसिमी, ब्रोकाउली, लौका, मूला, लसुन, बोडीजस्ता तरकारीको मूल्यवृद्धि ७२ देखि ९२ प्रतिशतले भएको छ। कालिमाटी तरकारी बजार नै बिचौलियाको काम गरेका कारणले अस्वभाविक रूपमा तरकारी मूल्य वृद्धि हुँदै गएको उपभोक्ता अधिकारकर्मीको आरोप छ । बिचौलिया तथा बिक्री तह धेरै भएको र विगतमा कार्यदलले दिएको सुझाव कार्यान्वयन नगर्दा मूल्य सधैं बढीरहेको उनीहरुको ठम्याई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार