काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।
यससँगै सागमा नेपालको स्वर्ण संख्या ५१ पुगेको छ । नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे । खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै भुटानलाई खेलमा फर्काए ।तर, खेलको ५४ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए ।
यससंगै नेपालले लगातार दोस्रो पटक साग फुटबलमा स्वर्ण पदक जितेको छ । भारतमा सम्पन्न १२ औं सागमा नेपालले घरेलु टोलीलाई हराएर स्वर्ण जितेको थियो । यस्तै समग्रमा नेपालले चौंथो पदक स्वर्ण पदक जितेको छ ।
भुटानले भने पहिलो पटक साग फुटबलमा रजत पदक जितेको छ । पहिलो पटक फाइनल पुगेको भुटानले पहिलो पटक रजत जितेको हो ।