काठमाडौँ — घुस लिएको आरोप लागेका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई जिम्मेवारीबाट हटाइएको छ । उनलाई गृह मन्त्रालय तानिएको छ । मुद्दा छिन्ने क्रममा सिडिओ रिजालले पटक–पटक घुस लिएको भन्दै पीडितले बिहीबार पत्रकार सम्मेलन गरेका थिए ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले रिजाललाई दोलखाको प्रजिअबाट हटाउने निर्णय भएको बताए । ‘उहाँलाई दोलखाका दिइएको प्रजिअको जिम्मेजारीबाट हटाइएको छ । जिल्ला पनि छोडिसक्नु भयो । तर, त्यहाँ कसलाई पठाउने भन्ने निर्णय हुन बाँकी छ,’ प्रवक्ता शर्माले भने ।
प्रजिअ रिजालमाथि मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानले ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङले २१ हजार घुस लिएको आरोप पत्रकार सम्मेलन गरेर लगाएका थिए ।
रिजालमाथि घुस लिएको नलिएको बारे थप छानबिन गरिने प्रवक्ता शर्माले बताए । ग्रृह स्रोतका अनुसार रिजालले पहिला घुस लिएपनि विवाद भएपछि फिर्ता गरेका थिए ।