काठमाडौँ – रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको छ।
विज्ञप्तिमा भनिएको छ– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन सम्बन्धी अनुसन्धान अभियोजन र न्यायिक निरुपणका सिलसिलामा न्यायिक हिरासतमा रहेका न्युज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेलगायतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुबाट भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको क्षेत्रमा हुलदंगा र अशान्ति हुनसक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ क बमोजिम सोमबार बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहायको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी आदेश गरिएको छ।
भेला हुन नपाउने क्षेत्रहरुः
पूर्वः बाइपास सडकतर्फको आन्तरिक राजस्व चोकदेखि घरेलु कार्यालय चोकसम्म।
पश्चिमः पूर्वपश्चिम लोकमार्गतर्फको सप्तगण्डकी अस्पताल चोकदेखि चौबीस कोठीसम्म।
उत्तरः बाइपास सडकतर्फको आन्तरिक राजस्व कार्यालयको चोकदेखि भरतपुर अस्पताल पुरानो मेडिकल कलेज जाने चोक(नारायणी मावि चोक(कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम राजमार्गको चौबीसकोठी चोकसम्म।
दक्षिणः बाइपास सडकतर्फको घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्वपश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र रुकु कार्की विरुद्ध जिल्ला अदालत चितवनमा आइतबार मुद्दा दर्ता भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय चितवनले उनीहरू विरुद्ध मुद्दा दर्ता गराएको हो ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको छ भने बाँकी दुई जनाको बयान सोमबार बिहान १० बजेबाट शुरु हुनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालयका सूचना अधिकारी प्रकाश थापाका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १७७ र दफा १८५ को १ र २ को कसुरमा तीनै जना प्रतिवादीलाई दफा १८५ को २ अनुसार सजाय माग गरिएको छ । सो दफामा पाँच वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै गर्न सकिने व्यवस्था रहेको छ ।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा उक्त मुद्दा रहेको छ । साउन २० गते राति नारायणगढको एक होटलमा पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । सो पश्चात् अनुसन्धानको क्रममा भेटिएको भिडियोमा तीन जनाका कारण आफूले आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेपछि लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले काठमाडौँबाट पक्राउ गरेको थियो ।
उनीहरू पक्राउसँगै समर्थकहरूले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन् । गत वर्षको भदौमा लागू भएको नयाँ कानुनमा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था रहेको छ ।
लामिछानेसहितको मुद्दाको टुङ्गो लाग्ने भन्दै ठूलो सङ्ख्यामा समर्थकहरूले प्रदर्शन गरेका थिए । साँझ अदालतबाट उनीहरूलाई प्रहरी कार्यालयमा ल्याउने क्रममा प्रहरीले समर्थकहरूलाई तितरवितरा गर्न केही सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा समर्थकहरूले प्रहारीमाथि ढुङ्गा प्रहार गरेका थिए ।