सोलुखुम्बु : साउन ३२ गते शुक्रबार बिहानैदेखि खुम्बु क्षेत्रमा पानी परिरहेको थियो। हिमाली भेग, उसै पनि तुवाँलाले ढाकेकै हुन्छ, मध्य वर्षातमा त हुस्सु डम्मै हुन्छ । वरपर पनि देख्न गाह्रो, थामे आफैमा ३८०० मिटर उचाइमा पर्छ । करिब ६५ घरपरिवारको बसोबास रहेको थामे अति सुन्दर र मनोरम उपत्यको रुपमा परिचित छ । पर्यटकीय ठाउँ, त्यही गाउँको माथिबाट साउन ३२ गते दिउँदो करिब १ः३० बजेको समयमा ठुलो आवाज सहित लेदो सहितको बाढी आयो । उच्च समस्थली भूभाग, थामेमा उत्पादन हुने प्रकृतिका केही गह्राहरू पनि छन् । तर त्यही गह्राहरुमा अहिले ठूला–ठूला ढुंगाहरु आएर बसेका छन् । संयोग नै भनौं, दिउँसो यो घटना भयो । अफ–सिजन भएकाले पर्यटक थिएनन् ।नाम्चेमा शुक्रबार हाट लाग्ने र दिउँसो भएकाले कतिपय नाम्चे बजार झरेका थिए।
कति गोठाला गएका थिए, त्यसैले मानवीय क्षति भएन। तर कटान र बगानका कारण थामे बगरमा परिणत भएको छ । मन थाम्न सकिने अवस्था छैन। प्रभावित भावबिवल छन् । थामेमा हिमताल फुटेर बाढी आउनुमा तापक्रम वृद्धि मुख्य कारण रहेको एक अध्ययनले देखाइसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ ५ गते सिंहदरबारमा पत्रकार सम्मेलन गरी तापक्रम वृद्धिका कारण दुई वटा हिमताल फुट्न गई बाढी बस्तीमा पसेको पुष्टि भएको जानकारी गराएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी प्रमुख अनिल पोखरेलले माथिल्लो हिमतालमा रहेको हिउँ तापक्रम वृद्धिका कारण पग्लिएको र अविरल वर्षाका कारण पानीको सतह पनि बढ्न गई पानीको छाल तल्लो हिमतालमा बजारिएको र त्यस पोखरीको कमजोर मुख फुट्न जाँदा थामेमा बाढी पसेको आफूहरूको प्रारम्भिक अनुसन्धानले देखाएको बताउनुभयो ।
हिउँ पग्लेको कारण पानी र त्यसको केही छाल समेत तल्लो तालमा गएर बजारिएको झन ठुलो रुप लिएको उहाँको भनाई छ । यस बाढीबाट बीसभन्दा बढी घरहरूमा क्षति पुगेको छ । थामे आधारभुत विद्यालय, स्वास्थ्य चौकी र छात्रावास पुर्ण रुपमा क्षतिग्रस्त बनेका छन् भने बाँकी रहेका घरहरु समेत आंशिक रुपमा क्षतिग्रस्त बनेको जिल्ला प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउँनुभयो । यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा रहेको ९५० किलोवाट क्षमताको जलविद्युत आयोजनामा सोही बाढले क्षती पुर्याउँदा ९०० हाराहारी घरधुरी अन्धकारमा बस्न बाध्य बनेका छन् ।
बाढी आएको भोलिपल्ट नेपाल सरकारका रक्षा मन्त्री सहितको टोली थामे गाउँमा पुगी प्रति घर १५ हजार राहत रकम वितरण गर्यो भने खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ५० हजार राहत स्वरुप नगद हस्तान्तरण गर्यो । खुम्बु र दोलखाको रोल्वालिङ उपत्यका जोडिने टासी लाप्चा पासतर्फबाट अकस्मात् बाढी आएको थियो । यतिखेर झण्डै एक सयको सङ्ख्यामा रहेका विस्थापितहरूलाई तल्लो थामेमा अस्थायी रूपमा बस्ने व्यवस्था गरिएको छ । थप बाढी समेत आउन सक्ने जोखिमलाई हेरेर तिनवटै सुरक्षा निकायको सहयोगमा घरहरूबाट अत्यावश्यक सामान निकाल्ने काम भइरहेको छ । पूरै थामे क्षेत्रमा ढुङ्गा, गिटी र लेदो मिश्रित गेगरान भरिएकाले अप्रत्यक्ष रूपमा पूरै गाउँ प्रभावित रहेको गाउँपालिकाले जनाएको छ । थामे गाउँमा मात्रै एक अर्ब भन्दा बढीको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरेका छन्। थामेको शिरमा पाँचवटा साना–ठूला हिमताल रहेका छन । त्यसमा २ वटा फुटेको र अरु पनि जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । ६५ घरका करिब १२० जना दिनमा भोक न रातमा निद्राको अवस्थामा छन । अहिले माथिल्लो थामे क्षेत्र (थामे थिङ)मा आफन्तको घरमा सहारा लिएर बसिरहेका छन । सामुदायिक भवन, गुम्बा र अन्यन्त्र बस्दा खानबस्नको समस्या भएपछि सबैजसो बाढीपीडित आफन्तको शरणमा पुगेका हुन् ।
पालिकाको केन्द्रबाट थामे पुग्न करिब १० घण्टा हिँड्नुपर्छ । गाउँ र सहर आवतजावत गर्न हेलिकोप्टर प्रयोग गर्नुपर्ने अवस्थाको गाउँमा बाहिरबाट राहत लगेर बाँड्ने कार्य अन्त जस्तो सहज छैन । सिंगो गाउँ प्रभावित भएकाले आसपासका आफन्तले धेरै दिन आश्रय दिन सक्ने अवस्था छैन । त्यहाँका अधिकांश पुरुष पर्यटन व्यवसाय र केही रोजगारीका लागि गाउँबाहिर छन । गाउँमा धेरैजसो महिला र बालबालिका बस्छन । यहाँका महिलालाई यतिवेला बालबालिका सम्हालेर विपत्तिको सामना गर्न गाह्रो छ । जीवनभर दुःख गरेर जोडेको सम्पत्ति, घरघडेरी, लत्ताकपडा, सुन र नगदसहितको सबै सम्पत्ति बाढीले बगाएको स्थानीय तारा शेर्पाले दुखेसो पोख्नुभयो । तत्कालका लागि वासस्थान र भविष्यमा काम गर्ने वातावरण मिलाइदिन थामेका स्थानीयले सरकार संग माग गरेका छन । ‘सबैथोक गुमाउँदा हाम्रो बिचल्ली भयो । आफन्तको घरमा हारगुहार मागेर बस्नुपरेको छ, यसरी कति दिन चल्छ, भएको सबै गुम्यो, भोलिको सम्भावना पनि केही छैन अब के गर्ने होला ?’ तारा भन्छिन्, ‘हामीलाई बस्ने वास र गर्ने काम चाहियो । नत्र त भोकमारी लाग्ने अर्को चिन्ता छ ।
तापक्रम वृद्धि हिमपोखरी फुटनुको मुख्य कारण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार सो हिमताल फुट्नुअघि त्यहाँको आकाशमा कालो बादल मडारिएको र त्यसले अनिष्ट निम्त्याउने संकेत देखिएको स्थानीयहरूले बताएका थिए। त्यो फुट्नुको कारण तापक्रम बढ्नु हो। जुलाई र अगष्टमा तापक्रम बढी भएको प्राधिकरणले जनाएको छ । थामेको शिरमा रहेको दुई वटा ताल विस्फोट भएर तल्लो तटीय क्षेत्र खण्डहर तुल्याउनुमा जल तथा मौमम विज्ञान विभागले दुईवटा कारण औंल्याएको छ । हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह (ग्राउन्ड सर्फेस) मा आएको भूक्षय, भूपरिवर्तनको (कम्पाउन्ड क्यासकेडिङ इफेक्ट) ले हिमताल विस्फोट भई तटीय क्षेत्र खण्डहर तुल्याएको विभागको निचोड छ ।
मौसम विज्ञान विभागका वरिष्ठ जलवायुविज्ञ सुनील पोखरेल, जलवायुविज्ञहरू निराकार थापा, मौसम भण्डारी, जोसन महर्जन र सुमित अधिकारीले यस घटनाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेका छन्। पछिल्ला दिनमा हिमाल पग्लिने क्रम सुरु भएसँगै हिमतालको आकार र संख्या वृद्धि भइरहेको वैज्ञानिकका अनुसन्धानले देखाएका छन् ।
हिमतालको पानी निकास गर्न ठूलो धनराशि जुटाउनुपर्ने बाध्यता छ । हिन्दु–कुश हिमालय क्षेत्रमा जोखिममा रहेका ४७ हिमतालमध्ये २१ वटा नेपालमै छन् । सन् २०१६ मा सगरमाथा क्षेत्रको ५,००० मिटरको उचाइमा अवस्थित इम्जा हिमतालको पानीको सतह घटाउन मात्रै ७.२ मिलियन अमेरिकी डलर खर्च भएको थियो ।
राष्ट्रसंघीय वातावरण कोषको सहयोगमा पानी घटाइएको इम्जा हिमतालको जोखिम अहिले पनि टरेको छैन । वैज्ञानिकहरूले जोखिममा रहेका भनिएका नेपालका २१ हिमतालमध्ये ठुलागी, होङ्गु, तल्लो वरुण र लुम्दिङ छो गरी चारवटा हिमतालको पानी तत्कालै निकास गर्नुपर्ने बताएका छन् । त्यसका लागि निकै ठूलो धनराशिको जरुरत छ । समयमै जोखिम कम नगरे त्यसले निम्त्याउने असर झनै विकराल हुने आकलन गरिएको छ ।
कसरी आयो बाढी ?
पर्यटकीय गाउँ नै बगाउने गरी बाढी कसरी आयो भनेर सबैको चासो र जिज्ञासा थियो । जब शनिवार विहान रक्षामन्त्री मानविर राई सहितको टोली थामे क्षेत्रमा पुग्यो अनि थाहा भयो थामे क्षेत्रमा माथि रहेको २ वटा हिमपोखरी फुटेर आयो । खुम्बु क्षेत्रमा साउन २५ गतेदेखि दैनिक औसत तापक्रम वृद्धि भएर ९.७ डिग्री सेल्सियसबाट ११ डिग्री सेल्सियस पुगेको थियो । साथै साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियसम्म पुगेको थियो भने त्यहाँका हिमतालको आकार बढ्दै गएको थियो ।
खुम्बु क्षेत्रको हिमतालबारे अध्ययनमा समेत संलग्न जलवायु परिवर्तन विज्ञ ठकुरीका अनुसार, एक दशकअघिको अध्ययन अनुसार सगरमाथा क्षेत्रमा साना–ठूला गरी ६२६ वटा हिमताल थिए भने अहिले हिमतालको संख्या बढ्दो क्रममा रहेको पछिल्लो अध्ययनहरुले देखाएको छ । बस्ती बिचबाट थामे खोला सधै नै बगिरहन्थ्यो तर साउन ३२ गते दिउसो थामे खोलाले आकार परिवर्तन गर्दै सुन्दर बस्ती नै तहसनहस बनाइदियो । थामे खोलामा साउन ३२ कै जस्तै बाढी ३९ वर्षअघि पनि आएको थियो । १९८५ अगष्ट ४ (२०४२ साल साउन २० गते) डिग्चो क्षेत्रबाट आएको बाढीले थामे खोलाको जलविद्युत् आयोजना नै बगाएको थियो । त्यतिबेला ३० वटा घर, १४ वटा पुल बगाउनुका साथै धेरै खेतीयोग्य जमिन बगरमा परिणत गरेको थियो ।
वरिष्ठ भूगर्भविद एवम् नेपाल सरकारका सिनियर डिभिजन इन्जिनियर श्रीकमल द्विवेदी थामेमा ३९ वर्ष अघिको भन्दा साउन ३२ गते आएको बाढी ठूलो भएको बताउँछन् । त्यो क्षेत्र नजिकमा रहेको स्याङ्गबोचे विमानस्थलमा विगत १५ दिनमा करिब १४८ मिलिमिटर जति वर्षा भएको छ । ‘जलवायु परिवर्तनको कारणले अहिले हिउँ पर्ने हिमाली भेगमा पानी पर्न थालेको छ । बरफ जमेर बसेको ठाउँमा माटो पनि कमलो हुदै ‘भीरमा जमेर रहेको बरफसहित माटोको ढिस्को वर्षाको कारणले समेत हिमपोखरी फुटने जोखिममा छन ।
राष्ट्रिय चासो र चिन्ताको खाँचो
हिमाली क्षेत्रमा हुने बाढी र पहिरोका घटना भविष्यमा पनि हुनसक्ने भएकाले सरकारले रोकथामको उपाय अपनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । विगतमा मनाङ, कागबेनी, मेलम्ची लगायतमा पनि अस्वाभाविक बाढी आउँदा ठूलो क्षति पुगेका उदाहरण रहेको भन्दै प्राकृतिक विपदको क्षति नियन्त्रणका लागि सरकार गम्भीर हुनुपर्ने भुर्गभविदहरुको जोड छ । थामेमा आएको बाढीबारे अनुसन्धान गर्न सांसदहरुले माग गरेका छन् । भदौ २ गते राष्ट्रिय सभामा आकस्मिक, शून्य समय र विशेष समयमा बोल्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीकी सांसद जयन्तीदेवी राईले जलवायु परिवर्तनका कारण हिमताल फुटेको र थामेमा बाढी आएको मौसमविद्हरूले बताएको उल्लेख गर्दै यसप्रति सरकारलाई सतर्क हुन आग्रह गर्नुभयो । नेपालमा जलवायु परिवर्तनको असरका सम्बन्धमा अनुसन्धान गरेर अन्तर्राष्ट्रिय स्तरमा दरिलो गरी प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । थामेमाथि पाँच वटा हिमताल रहेको र त्यसमध्ये दुई वटा फुटेको र थप दुई वटा जोखिममा रहेको बताइएको उल्लेख गर्दै नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
नेकपा एमालेकी सांसद इन्दिरादेवी गौतमले ‘हिमाल जोगाऔं’ अभियान चलाउन सरकारलाई आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुसहित हिमताल फुटेर हुन सक्ने सम्भावित क्षेत्रको बस्ती स्थानान्तरणका लागि सरकारले तत्काल पहल लिनुपर्ने बताउनुभयो । जोखीमका बस्ती स्थानान्तरण गरेर अनुसन्धानमा सरकार अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।







