सोलुखुम्बुः भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राई नेतृत्वको टोली शैक्षिक अवलोकन अध्ययन भ्रमणमा जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका आएको छ । सोमबार थुलुङ दुधकोशी आएको टोली मंगलबार फर्केको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
सोमबार गाउँपालिका अध्यक्ष असिम राईले पालिकाले शिक्षा क्षेत्रमा गरेको विभिन्न गतिविधिका सम्बन्धमा जानकारी गराउनुभएको थियो । शैक्षिक सम्मेलन देखि २१ बुद्धे परिमार्जित स्वेत पत्र जारी गरिएको र विभिन्न सहयोगि संस्था संगको सहकार्य लगायतको बारेमा अध्यक्ष राईले टोलीलाई जानकारी गराउनुभएको थियो । पालिका प्रवक्ता भोजराज कार्कीका अनुसार शैक्षिक उन्नयनका लागि प्रोत्साहित गराउन उत्कृष्ट विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालयलाई पुरस्कार देखि प्रधानाध्यापकलाई थप भत्ता लगायतको व्यबस्था गरिएको लगायत पालिका भित्रका सबै शैक्षिक गतिविधिका बारेमा जानकारी गराइएको छ ।

पालिका अध्यक्ष असिम राईको प्रस्तुतीकरण पश्चात टोलीले मंगलबार वडा नम्बर ६, ७ र वडा नम्बर १ को विभिन्न विद्यालयमा भ्रमण गरेको छ । भ्रमण पश्चात रामप्रसादराई गाउँपालिका अध्यक्ष थाम बहादुर राईले थुलुङ दुधकोशी गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको कार्य अनुकरणीय रहेको बताउँनुभयो । गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख लगायत अन्य प्रधानाध्यापक सहित उपस्थित हुनुभएका पालिका अध्यक्ष राईले थुलुङ दुधकोशी गाउँपालिकाको शैक्षिक कार्यले रामप्रसादराई गाउँपालिकाको शैक्षिक परिवर्तनमा महत्वपुर्ण सहयोग पुग्ने बताउँनुभयो ।

२०८१ सालको एसईई परीक्षामा थुलुङ दुधकोशी गाउँपालिकाले सत प्रतिशत नतिजा ल्याउन सफल भएको पाइएकाले अध्ययन भ्रमणका लागि कार्यपालिकाले निर्णय गरेर थुलुङ दुधकोशी छनौट गरिएको अध्यक्ष राईले बताउँनुभयो । शिक्षा बिनाको विकास अधुरो हुने भन्दै अध्यक्ष राईले शिक्षा क्षेत्रमा आमुल परिवर्तनका लागि थुलुङ दुधकोशी गाउँपालिकाले गरेको कार्य अन्य स्थानीय सरकारको लागि पनि सिकाईको माध्यम बन्ने बताउँनुभयो ।
शैक्षिक अवलोकन अध्ययन भ्रमण सकेर उक्त टोली मंगलबार फर्केको छ । दुबै गाउँपालिकाको तर्फबाट मायाको चिनो प्रदान गरिएको छ ।

भोजपुरको तर्फबाट त्यहाँ उत्पादन भएको भोजपुरे खुकुरी प्रदान गरिएको छ भने थुलुङ दुधकोशी गाउँपालिकाको तर्फबाट यहाँ उत्पादन भएको राँडी हस्तान्तरण गरिएको थियो








