साेलुखुम्बु : थुलुङ दुधकोशी गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले भुकम्प पीडितलाई जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सेवा सुविधा कटौती गरि राहत प्रदान गर्ने निर्णय गरेको हो ।
गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार गाउँपालिका अध्यक्ष, उपाअध्यक्ष, वडा अध्यक्ष सहित कार्यपालिका सदस्यको १५ दिन बरारको सेवा सुविधा बापत प्राप्त हुने रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । यस्तै गाउँपालिका अन्तरगतका प्रशासनिक कर्मचारीको दुई दिन, र गाउँपालिका अन्तरगत कार्यरत शिक्षक तथा कर्मचारीको १ दिन बराबरको परिश्रमिक जम्मा गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।
कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भुकम्प पीडितलाई राहत प्रदान गर्ने थुलुङ दुधकोशी जिल्लाको पहिलो गाउँपालिका हो । अहिले भुकम्प पीडितलाई विभिन्न सकारकारी निकाय तथा गैह्रसरकारी संघसंस्थाबाट सहयोगको घोषणा भइरहेको छ ।
यसैबीच सोमबार नै सम्पन्न कार्यपालिका बैठकले थुलुङ दुधकोशी गाउँपालिका ६ नम्बर वडा कार्यालय भवन निर्माणको लागि गाउँपालिकाबाट आवश्यक बजेट व्यवस्था गरि जिल्ला समन्वय समिति संग समन्वय गर्ने निर्णय गरेको छ । नौ वटा वडा रहेको पालिकामा वडा नम्बर ५, ७, ८ र ९ नम्बरमा यस अघिनै जिल्ला समन्वय समिति सोलुखुम्बु संगको समन्वयमा भवन निर्माण सकिएको छ भने वडा नम्बर ४ मा निर्माण सम्पन्न हुने चरणमा रहेको छ ।