काठमाडौ : सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटार बसेको सत्ता गठबन्धनको बैठकले एमालेको कदम असंसदीय रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा दिन नपर्ने र संसदको फेस गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
‘प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर हिजो संसद् अवरुद्ध भयो र त्यहाँ प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भन्ने कुरा आयो, राजीनामाको कुरा कल्पना पनि गर्न सकिन्न’, पाण्डेले भन्नुभयो, ‘जे कुरा हो त्यो कुरा प्रधानमन्त्रीले सदनमा राख्ने ।’
सात दलले मिटर ब्याज पीडितहरूलाई न्याय दिन र सुशासनका लागि सरकारले गरिरहेको कामलाई ओझेलमा पार्न गरिएको षडयन्त्र भएको पनि निष्कर्ष निकालेका छन् ।
बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेताहरु छन् ।







