काठमाडौ : सोलुदुधकुण्ड नगरपालिकाको वडा नं. ७ नाजिङबाट काठमाडौ आएर बसोबास गर्दै आएका व्यक्तिहरुले दुधकुण्ड वचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना गरेका छन् । अनौपचारिक रुपमा ११ बर्ष देखि नै अस्तित्वमा रहेको सहकारीलाई विधिवत रुपमा दर्ता गरी कानुनी मान्यता प्रदान गरिएको हो । सहकारी संस्थाले आज सबै सेयर धनीलाई सेयर प्रमाण पत्र वितरण गरेको छ ।
तत्कालीन गार्मा गाविसको वडा नं. ५ नाजिङबाट काठमाडौ आएर बसोबास गरिरहेकाहरुको आर्थिक उपार्जनका लागि सोलु काठमाडौ सहकारी संस्थाको नामबाट सञ्चालित संस्थालाई नै दुधकुण्ड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा दर्ता गरिएको संस्थाका सचिव डा. खड्ग नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
सहकारी संस्थाका कोषाध्यक्ष चित्रध्वज खत्रीका अनुसार हाल ५२ जना पुरुष र २९ जना महिला गरी ८३ जना सेयरधनीहरु हुनुहुन्छ । सहकारीको कुल पूँजी ८७ लाख, ६७ हजार ७ सय रुपैयाँ रहेको कोषाध्यक्ष खत्रीले जानकारी गराउनुभयो । उहाँले आउँदो दिनका काठमाडौमा मात्र नभई सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ७ मा समेत शाखा कार्यालय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिकाको वडा नं. ८ मा स्थापना भएको दुधकुण्ड बचत तथा ऋण सहकारी संस्थाले अब सेयर सदस्य बृद्धि गर्दै लैजाने र भूगोलको कुनै दायरा नरहने संस्थाले जनाएको छ ।

१०/१५ लाख लगानीका लागि समस्या नहुने
सेयर प्रमाणपत्र वितरण कार्यक्रममा संस्थाका सचिव डा. खड्ग नारायण श्रेष्ठले सरसापटी चाहिंदा रक्सी तथा अण्डा बोकेर साहुमहाजन सँग सयकडा ५ रुपैयाँ समेत व्याज तिर्नुपर्ने अवस्था स्मरण गर्दै अब १०/१५ लाख रुपैयाँ लगानीका लागि कुनै समस्या नपर्ने बताउनुभयो । बैंकले ऋण दिंदा सम्पति धितो राखेर मात्र ऋण दिने भएकाले भौतिक सम्पति नहुनेले ऋण नै नपाउने अवस्था सिर्जना हुने उहाँले बताउनुभयो । तर सहकारी संस्थामा आफूले जम्मा गरेको रकम सामूहिक जमानीको आधारमा पनि दिन सकिने भएकाले भौतिक सम्पति नभएका व्यक्तिले पनि ऋण लिएर लगानी गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्ष मनोज ढुङ्गानाले आफू पनि लामो समयदेखि सहकारी संस्थामा जोडिएका हुनाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गरेमा मात्र सहकारीसँग जोडिएका व्यक्तिहरुको आर्थिक समृद्धि हुने बताउनुभयो । उहाँले वचत गर्ने र व्याज मात्र खाने नीति हो भने सहकारीको लगानी बाहिर जान सक्ने भएकाले सहकारी भित्रकै सदस्यहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सहकारी सञ्चालकहरुको पृष्ठभूमि हेरेर शेयरधनीहरु आकर्षित हुने भएकाले एउटै क्षेत्रका भएकाले पनि लगानी सुरक्षित हुने बताउनुभयो । ‘यहाँ तपाईहरु एउटै क्षेत्रबाट आएर बसोबास गर्नेहरु नै बढी रहेको पाईयो, मलाई लाग्छ यहाँ सबैले सबैलाई चिन्नुहन्छ, यसले गर्दा तपाईको लगानी सुरक्षित छ ।’ उहाँले भन्नुभयो ।
आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण : सांसद राई
काठमाडौ क्षेत्र नं. ३ का संघीय सांसद कृष्ण राईले मुलुकको आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राईले सहकारी संस्थाहरु नेपालको आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले सिङ्गो मुलुकले सहकारीलाई अंगीकार गरेको बताउनुभयो ।
सहकारीले आर्थिक समृद्धि मात्र ल्याउने नभई यसको दुरुपयोगका कारण जेल जीवन समेत विताउनु पर्ने दृष्टान्त पेश गर्दै उहाँले दुधकुण्ड सहकारीले सहकारी सदस्यहरुमा आर्थिक समृद्धि ल्याउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले सहकारीको रकम अपचलन गरेर जेल जीवन विताईरहेका इच्छाराज तामाङ तथा सुधीर बस्नेत लगायतको नाम लिदै उनीहरुबाट धेरै परिवार प्रताडित रहेको बताउनुभयो ।
’हाम्रा पूर्खाले भन्नुहुन्थ्यो, आगो र पानीसँग खेल्नु हुँदैन, म त भन्छु अझ पैसासँग जोगिनुपर्छ । पैसा हिनामिना ग¥यौं भने इज्जत नष्ट हुन्छ, त्यसैले सहकारी सञ्चालकहरुले आर्थिक अभिलेख पारदर्शी तरिकाले राखेको छ छैन ? सदस्यहरुले बेला बेलामा हेर्ने गर्नुपर्दछ ।’ उहाँले भन्नुभयो ।
सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का सदस्य नन्दलाल श्रेष्ठ, शिक्षासेवी छत्र केसी, गोकर्णेश्वर नगरपालिकाको सहकारी शाखाका प्रमुख दिपक थापा, सहकारी संस्थाका सदस्यहरु कृष्णगोपाल श्रेष्ठ तथा डम्मर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।







