सोलुखुम्बु : जिल्लाको विकट गाउँ माप्य दुधकोशी गाउँपालिका–६ वाकुमा नवनिर्मीत अपांगमैत्री स्वास्थ्य चौकी भवनको उद्घघाटन गरिएको छ । एक करोड ८ लाख ९२ हजारको लागतमा नवनिर्मित स्वास्थ्य चौकी भवनको मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।
नेकपा एमाले प्रदेश नम्बर १ का प्रमुख सचेतक तथा प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, नेपालका लागि अष्ट्रेलियन राजदुत फेली सिटी भोल्क र गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गर्नुभएको हो ।
भवन निर्माणका लागी माप्य दुधकोशी गाउँपालिकाले रु.४० लाख, वान हर्ट वल्र्ड वाइडले रु.३३ लाख, एक्सन फर नेपालले रु.३२ लाख ५० हजार र समुदायले रु.३ लाख ४२ हजार लागत साझेदारी गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख सचेतक एवम् सांसद राजभण्डारीले विकास निमार्णमा राजनीति नगर्न आग्रह गर्नुभयो । सामान्य बिरामी हुदा समेत उपचारका लागी अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको दावी गर्दै उहाँले विकास निर्माणले फड्को मारेको बताउँनुभयो ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दे गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले सुविधासम्पन्न भवन निर्माणसँगै प्रसूतिका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउँनुभयो । गाउँमा नै सुविधासम्पन भवन निमार्ण सँगै गुणस्तरीय सेवा समेत प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको अध्यक्ष राईको भनाई थियो ।
यस्तै गाउँपालिका उपाध्यक्ष जुनिता माया मगरले प्रसूति सेवा सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा स्थानीय सरकार तयार रहेको बताउँनुभयो । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा माप्य दुधकोशी ६ र ७ वाकुका महिला स्वास्थ्य स्वयम्सेवीकालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ ।
माप्यदुधकोशी गाउँपालिका–६ र ७ जिल्लाकै विकट वडाको रुपमा लिइन्छ । यस वडा दुधकोशी र इङ्खु खोलाको बीचमा पर्ने भएकाले छुट्टै टापुको रुपमा रहँदा हरेक विकास निर्माणबाट पछाडी पर्ने गरेको स्थानीयवासीले गुनासो गर्दैआएका थिए । स्थानीय सरकार आएसंगै विकासले गतिलिएको भन्दै त्यस क्षेत्रका नागरिक अहिले हर्षित बनेका छन् ।
सडक सञ्जालले जोडिनुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा समेत गाउँपालिकाले प्रशंसनिय कार्य गरेको उनीहरुको भनाई छ । यस्तै शिक्षा क्षेत्रमा समेत राम्रो काम गरेको सरकारले रोजगारी सृजना गर्ने खालका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।







