सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा पर्ने हरियाली सामुदायिक वनमा लागेको डढेलो बस्ती नजिक पुगेको छ । तीन दिन देखि लागेको डढेलो नियन्त्रण बाहिर हुँदा नाक्चुङबस्ती नजिक पुगेको वडा अध्यक्ष आङ्फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
डढेलोका कारण नाक्चुङ क्षेत्रका १३ घरपरिवार जोखिममा परेको वडा अध्यक्ष शेर्पाले बताउँनुभयो । तिब्र वेगको हावाका कारण आगोलाई नियन्त्रणमा लिन कठिन हुँदा समस्या भएको बताइएको छ । स्थानीयवासीले आगो नियन्त्रणमा लिन नसकेपछि सोमबार देखि हेलिकोप्टरको प्रयोग गरिएको छ ।
अग्नीनियन्त्रक सिम्रीक एयरको हेलिकोप्टरले दुईदिन देखि आगो नियन्त्रणमा लिने प्रयास जारी राखेको भएपनि सफल नभएको सोलुखुम्बु प्रहरीले जनाएको छ । गाउँपालिकाको पहलमा ल्याएको उक्त हेलिकोप्टरले आगो नियन्त्रणका लागि ८४ हजार लिटर पानी प्रयोग गरेको वडा अध्यक्ष आङफुर्वा शेर्पाले बताउँनुभयो ।
आगो लागेको क्षेत्र नजिकै पर्ने सुर्के खोलाबाट पानी तान्ने काम गरिएको छ । मंगलबार बेलुका लुक्लामानै बसेको हेलिकोप्टरले बुधबार पनि आगो नियन्त्रणको प्रयास गर्ने बताइएको छ । डढेलो नियन्त्रणका लागी गाउँपालिकाले सबै सयन्त्र प्रयोग गरेको पालिकाले जनाएको छ ।
अत्याधिक भिरालो र तिव्र वेगको हावाका कारण मानिसले आगो नियन्त्रणको प्रयास समेत गर्न नसक्ने स्थानीयवासी रामे तामाङले बताउँनुभयो ।
आगो तिब्र गतिमा फैलिदा धुवाँका कारण सोमबार बिहान झण्डै १ घण्टा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला बन्द गर्नुपरेकोे थियो । आगोका कारण सल्ला, उत्तिसलगायत विभिन्न प्रजातिका बोटबिरुवाहरु नष्ट भएको भएपनि के कति क्षति भयो एक्किन गर्न कठिन भएको बताइएको छ ।
महाकुलुङको एक वनमा लागेको डढेलो सातघण्टा पछि नियन्त्रण
जिल्लाको माहाकुलुङ गाउँपालिका–५ मा पर्ने एक सामुदायिक वनमा लागेको डढेलो करिब ७ घण्टापछि नियन्त्रणमा आएको छ । थोकोपैस देवाखर्क सामुदायिक वनमा मंगलबार बिहान करिब ११ बजेबाट सुरु भएको डढेलो साँझ ५ बजेबाट नियन्त्रणमा आएको स्थानीयवासीले बताएका छन ।
तिब्र्र गतिको हावाका कारण आगो भिर क्षेत्रमा प्रवेश गरेकाले नियन्त्रणमा चुनौती थपिएकोे थियो तर स्थानीयवासी र प्रहरीको लामो प्रयासपछि नियन्त्रणमा आएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिबि कुलुङले जानकारी दिनुभयो । यद्यपी अझैपनि पुर्ण रुपमा नियन्त्रणमा आउन भने नसकेको उहाँले बताउँनुभयो ।
भिर क्षेत्रमा प्रवेश गरेको आगो पुनः फैलिन सक्ने सम्भावना भने रहेको उपभोक्ता समितिले जनाएको छ । आगोका कारण वन क्षेत्रमा रहेको लालीगुरास, चिराइतो लगायत अन्य बनस्पती तथा जडिबुटीहरु जलेर नष्ट भएपनि के कति क्षति भयो भन्ने विवरण आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।







