खोटाङ : खोटाङमा पहिलो पटक निर्माण भएको सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पर्ने जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा निर्माण सम्पन्न सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कको मंगलबार उद्घाटन गरिएको हो ।
मासिक ३ लाख रुपैंयाँ राजश्व सङ्कलन गर्ने स्रोतका रूपमा सञ्चालन गर्ने गरी करिब ४ करोड रुपैंयाँ बजेटमा कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गरिएको हो । नगरपालिका, प्रदेश सरकार तथा संघीय सरकारको त्रीपक्षीय लगानीमा निर्मित संरचनाको उद्घाटन नगर प्रमुख दिपनारायण रिजाल र उपप्रमुख बिणादेबी राईले गर्नुभएको हो ।

एउटै छानामुनि नुनदेखि सुनसम्म उपलव्ध गराउने लक्ष्यले कम्प्लेक्सको अवधारणा ल्याईएको मेयर रिजालको भनाइ छ । तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा ५ वटा स्टल र उउटा रेष्टुरेण्ट हल तथा पछाडीपछि स्विमिङ पुलसहितको चिल्ड्रेनपार्क निर्माण गरिएको छ । तल्लो तलाको सटरमा कोशेलीघर, नगरपालिकाको तरकारी, जिल्ला कृषकले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्र लगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनभएको छ ।
सपिङ कम्प्लेक्स तथा चिलड्रेनपार्क नयाँ प्रयोग भएको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष उपिन राईको भनाई छ । राईको अनुसार सो संरचना जिल्लामा आवश्यक रहेको थियो ।







