काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा आज प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा हुनेछ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १–० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए । मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टोली घोषणा गरेका हुन् । प्रशिक्षक अब्दुल्लाहले यसअघि घोषणा गरेको टोलीबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टोलीमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।







