सोलुखुम्बु : “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तरगत सूचना प्रवाह र सचेतना अभिवृद्धिका लागि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र जिल्लामा सञ्चालित दुई सञ्चार गृहबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
समाजमा भएका अपराध, लागुऔषध, मदिरा लगायतका विकृति विसंगतीहरुबाट समाजलाई टाढा राख्ने उदेश्य सहित जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुर्वी क्षेत्रकै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम र हिमाल एफ.एम.संग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
उक्त समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयको तर्फबाट प्रहरी नायब उपरीक्षक कवित कटवाल र सोलु एफ.एम.का तर्फबाट स्टेशन म्यानेजर भोजराज कार्की तथा हिमाल एफ.एम.को तर्फबाट प्रबन्धक निर्देशक भानुभक्त निरौलाले हस्ताक्षर गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच हस्ताक्षर गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी ऋषिराज ढकालले जानकारी दिनुभयो ।
समझदारी अनुसार सूचना तथा सचेतनामुलक सामाग्रीहरु सम्प्रेषण गर्ने सवालमा प्रहरीलाई सञ्चार माध्यमले सहयोग गर्ने गर्ने र समाचार सम्प्रेसणको सवालमा पत्रकारहरुलाई आवश्यक सम्पुर्ण शान्ति सुरक्षाको व्यवस्थापन प्रहरीले गर्ने लगायत अन्य विषय समेटिएको छ ।
समझदारीपत्रले संस्थागत सम्बन्ध कायम रहने विश्वास
कार्यक्रममा बोल्दै पत्रकार महासंघ सोलुखुम्बुका निवर्तमान अध्यक्ष मनोज कुमार श्रेष्ठले प्रहरी र सञ्चार माध्यमको सहकार्यले राज्यको उपस्थिती कुनाकन्दरा सम्म पु¥याउनमा थप मद्धत पुग्ने बताउँनुभयो । उहाँले यसलाई महत्वपुर्ण कदम भएको भन्दै पत्रकार र प्रहरी एक अर्काको परिपुरक रहेकाले यसलाई संस्थागत गर्ने सवालमा समझदारीपत्रले महत्वपुर्ण भुमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।

यस्तै हिमाल एफ.एम.का प्रबन्धक निर्देशक भानुभक्त निरौलाले जिल्लामा प्रहरी र सञ्चार माध्यम बीच भएको समाझदारीले अन्य जिल्लाहरुमा समेत सकरात्मक सन्देश जाने बताउँनुभयो ।
नेपाल पत्रकार महासंघ सोलुखुम्बुका कार्यबहाक अध्यक्ष एवं सोलु एफ.एम.का स्टेशन म्यानेजर भोजराज कार्कीले सझमदारीपत्रको कार्यन्वयन गर्न प्रतिवद्ध रहेको बताउँनुभयो । साथै जिल्लामा पत्रकारीताको नाम जोडेर गलत कार्य गरि व्यवसायीक पत्रकारहरुको स्वाभिमानमा आच पु¥याउने उपर कडा कदम चाल्न प्रहरी प्रशासनलाई आग्रह गर्दै त्यसका लागि पत्रकार महासंघ सोलुखुम्बु सहयोग गर्न तयार रहेको बताउँनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालले सम्मुनत समाज निर्माण गर्नमा प्रहरीको जति भुमिका छ त्यति नै भुमिका पत्रकारको पनि रहेको बताउँनुभयो । अपराध नियन्त्रणका लागि मिसन पत्रकारहरुलाई सुरक्षा प्रदान गर्नमा समझदारीपत्रले प्रष्ट पार्ने भन्दै यसको पुर्णरुपमा कार्यन्वयन गर्न आफुहरु प्रतिवद्ध रहेको बताउँनुभयो ।

रेडियो कार्यक्रम “प्रहरी”ले निरन्तरता पाउँने
यस अघि २०७५ साल देखि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु र सोलु एफ.एम बीचको सहकार्यमा साप्ताहिक रेडियो कार्यक्रम “प्रहरी” सञ्चालन हुँदै आएको छ । निकै लोकप्रिय रहेको उक्त कार्यक्रम सोलु एफ.एम.मा २०७७ साल माघ १६ गते राति आगलागि भएपछि स्थगित भएको थियो ।
प्रहरी कार्यालयका कर्मचारी आफैले उत्पादन गर्ने कार्यक्रममा विभिन्न सचेतना मुलक नाटक सहित जानकारी समावेश हुनुले निकै लोकप्रिय बनेको थियो । कार्यक्रम पुनः सञ्चालनको लागि सोलु एफ.एम.मा फोन सम्पर्क गरि आम श्रोतलो बारम्बार माग गरेका छन् ।
सोही कार्यक्रममा समावेश भएको नाटकको विषय वस्तुतलाई समेटेर बालबिबाह न्यूनिकरणको लागि “सचेत” नामक छोटो चलचित्र समेत निर्माण गरि विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । उक्त चलचित्र उत्कृष्ट रहनुका साथै बालविवाह न्यूनिकरणमा महत्वपुर्ण सहयोग पु¥याएको प्रतिक्रिया छ ।







