काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।
चितवनले पहिलो पटक इपिएलको उपाधि जितेको हो। उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ। उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ। पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए। मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो। पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए। रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए ।
कप्तान विनोद भण्डारीले २२ रन बनाए। किशोर महतो १ रनमा अविजित रहे ।
विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए। पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए ।
यस्तै, करिम जनत र सेकुग्गे प्रसन्नले २-२ विकेट लिए। सोमपाल कामी र सागर ढकालको नाममा १-१ विकेट रह्यो ।







