खोटाङ : जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकका अनुसार हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भटिएका छन् । शुक्रबार दुई जनामा संक्रमण पुष्टि भएको छ ।
सबै भन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ का पाँच जना, वडा नम्बर ६ का १ जना र रावाबेशी गाउँपालिका –३ का एक जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । ती मध्ये एक जना बिरामीलाई शरीरमा रगत कम भएकाले भदौ ३० गते अन्यत्र रेफर गरेको छ ।
यस्तै दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र अन्य बिरामी घरैमा रहेको डा. मल्लिकले बताए । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने सङ्क्रामक रोगलाई नै डेंगु भनिने चिकित्सकको भनाई छ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने भएपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण पहाडी क्षेत्रमा समेत पाइने गरेको बताइन्छ ।
यसका प्रमुख लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हेन, मांसपेशी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने आदि डा. मल्लिकको भनाई छ । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्ने उहाँले बताउँनुभयो ।
यस रोगबाट बच्न लामखुट्टेको वासस्थानहरू नष्ट गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकको सुझाव छ । यसका लागि मानिसको बसोवास क्षेत्रमा अनावश्यक रूपमा पानी जम्न नदिने वा जमेको पानीलाई ढाकेर राख्ने तथा शरीरको सबै भाग छोप्ने कपडा लगाउन सकिने जिल्ला अस्पताल खोटाङका प्रमुख डा. मल्लिकले बताउँनुभयाे।







