उम्लिङ घटनाकाे कारण व्यक्तिगत रिसीबी, यसरी भएकाे थियाे घटना

  नेपालन्यूजसाईट समाचारदाता

काठमाडाैं : संखुवासभाको मादी-१ उम्लिङकाे घटना व्यक्तिगत रिसीबीका कारण भएकाे पाइएकाे छ । एकै परिवारका ६ जनाकाे हत्या घटनामा सम्लग्न भएकाे आराेपमा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ।

घटनामा सङ्लग्न भएकाे आराेपमा मृतक तेजबहादुर कार्कीकाे नाताले भतिज पर्ने  २६ वर्षीय लाेक बहादुर कार्कीलाई प्रक्राउ गरी अनुशन्धान  गघी बढाइएकाे सङ्खुवासभा प्रहरीले जनाएकाे छ । प्रहरी श्राेतका अनुसार आराेपित लाेकबहादुरले घटनामा सम्लग्न भएकाे स्वीकार गरेका छन् । यस बारे आज चैनपुरमा पत्रकार सम्मेलन गरी जानकारी गराइने प्रहरीले जनाएकाे छ ।

यस्ताे छ घटनाकाे कारण

एक वर्षअघि लोकबहादुर कार्कीकी आमा तेजबहादुरको घरमा लडेकी थिइन्। उनको आमा बेहोस भएपछि उपचारको क्रममा झापामा मृत्यु भएको थियो।

लोकबहादुरले आफ्नी आमाको मृत्युको कारण तेजबहादुर नै भएको आरोप लगाउँदै आएका थिए । तेजबहादुर र लोकबहादुरको घर करिब १०० मिटरको दुरीमा छ।

यसैबीच गत सोमबार बिहान खेताला खोज्न निस्किएका तेजबहादुरलाई लोकबहादुरले बाटोमै कुरेर बसे। र, आक्रमण गरेर हत्या गरे। ​तेजबहादुरको हत्या गरेको पत्नी कमला र बुहारी रञ्जनाले घरबाट देखेपछि दौडिँदै गए। घरनजिकै रहेको खोलाछेउमा उनीहरूलाई पनि लोकबहादुरले ह्यामरले हिर्काएर हत्या गरे।

हत्या गरेको प्रमाण मेटाउन लोकबहादुरले आठ वर्षीय विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई समेत बारीमा लखेटी-लखेटी हत्या गरे। त्यसपछि पनि लोकबहादुरले तेजबहादुरको घरमै पसेर कुँडो पकाइरहेकी ८४ वर्षीया पार्वतीको हत्या गरे।

६ जनाको ज्यान जाने गरी भएको गत सोमबारको घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको थियो ।  हत्या गरिएका तेजबहादुरले केहि गर्न नसकेको भन्दै  ‘हेपेका कारण’ आफूले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मार्न चाहेको बयान दिएका छन् । तर, घरका अन्य सदस्य पनि आएपछि अरुलाई पनि मार्न बाध्य भएको उनले स्वीकारेको प्रहरीले जनाएको छ।

घटनाकाे तथ्य यसरी पत्ता लाग्याे 

गत सोमबार तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियो भने श्रीमती मनमाया र बुहारी रञ्जनाको शव घरनजिकै खोल्सामा भेटिएको थियो । नाति-नातिनी दीपक र गोमाको शव पनि घरमाथि मकै बारीमा भेटिएको थियो ।

निर्दोष देखिनका लागि लोकबहादुरले छिमेकीलाई हत्याको खबर सबैभन्दा पहिले पुर्‍याएका थिए । तर, लोकबहादुरको घरमा रगत लागेको कपडा र हत्यामा प्रयोग गरिएकोजस्तो देखिने हतियार प्रहरीले फेला पारेपछि उनलाई केन्द्रविन्दुमा राखेर अनुसन्धान गरेको थियो ।

प्रहरी स्रोतका अनुसार हत्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर संकाको घेरामा थिए । घरभित्र रगत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा शंकास्पद केही ब्यक्तिको ‘डिएनए’समेत परीक्षण गरिएको थियो। तर, प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसी नेतृत्वको प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोली, सङ्घीय इकाई प्रहरी कार्यालय धरानको टोली र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट डिएसपी लालध्वज सुवेदी नेतृत्वको संयुक्त अनुसन्धानबाट घटनामा संलग्न भएका लाेकबहादुरलाई पक्राउ गर्न सफल भएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार