काठमाडौं : चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ । आज बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । खेलमा अग्रता चेल्सीले २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो ।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको चेल्सीका लागि खेलको अन्तिम समयमा किपा मैदान छिरेका थिए । चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो । युईएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ ।







