छिरिङ श्रीपोस पिल्मो राई-
नेपाल सरकारले नेपालका विभिन्न जातिमध्ये ५९ जातिलाई आदिवासी जनजातिमा सूचीकृत गरेको छ । सूचीकृतमध्ये एक हो, राई । राईभित्रका भाषिक–सांस्कृतिक समुदाय हुन् कुलुङ, पिल्मोङ र सोताङ । यी तीनै थरिको नाम भूमिसँग सम्बन्धित छ ।
उनीहरू आदिमकालदेखि होङ्गु उपत्यकामा बसोबास गरिरहेका मूलवासी हुन् भनेर पहिलोपटक चाल्स माइकडुगालको ‘द कुलुङ्गे’ राई नामक पुस्तकमा उल्लेख छ । माइकडुगालले आफ्नो पुस्तकमा सोताङ र पिल्मोङको नाम मात्र उल्लेख गरेर कुलुङ्गेको बारेमा अध्ययन केन्द्रित गरेका छन् । उनले कुलुङ्गेको खेतीपाती र पशुपालन क्षेत्रसमेत वर्णन गरेका छन् । त्यस्तै पुस्तकमा कुलुङ्गेको थरहरू (पाछाहरू) केलाएर प्रस्तुत गरिएको छ ।
पुस्तकअनुसार ताम्सी र छेम्सीका सन्तानहरू मात्र कुलुङ भूमिमा बसोबास गरेर कुलुङ्गे भएका हुन् । माइकडुगालले भूमिको नाम कुलुङ र कुलुङ भूमिमा बसोबास गर्ने जनसमुदायहरू कुलुङ्गे हुन् भनेर स्पष्ट उल्लेख गरेका छन् । उनले कुलुङमा धान कम फल्छ भनेर लेखेका छन् । धान कम फल्छ भन्ने शब्दले कुलुङ भनेको ठाउँको नाम हो भन्ने छर्लङ्ग देखाउँदछ ।
तिलकशंखर कुलुङले प्रकाशन गरेको ‘किराँत कुलुङ (राईको) वंशावली तथा संस्कार–संस्कृति’ पुस्तकमा पिल्मोङलाई कुलुङको भाञ्जो भनिएको छ । पुस्तकमा कुलुङकी चेली खप्दुछेमलाई छाम्पानामले विवाह गरेर लगेपछि खप् कुलुङले आफ्नी चेली खप्दुछेमलाई पिल्मोङको उत्तर–पूर्व किनारमा अवस्थित वास्दोउ भन्ने एक टुक्रा भूमि छुम्रीखार्म् (दाइजो) दिएका हुन् भन्ने उल्लेख छ ।
रत्नबहादुर कुलुङ राईद्वारा लिखित ‘कुलुङ वंशावली कथा’ पुस्तकमा कुलुङकी चेली खप्दुछेमलाई छाम्पानामले विवाह गरेपछि जन्मिएको सन्तान पिपिल भयो । पिपिलका सन्तानहरू नै आजका पिल्मोङ हुन् ।
तिलकशंखर कुलुङ र रत्नबहादुर कुलुङ राई दुवैले राताप्खु र छेम्सीले जमिन साटासाट गरेर राताप्खु सोताङ र छेम्सी कुलुङ गएका थिए भनेर उल्लेख गरेका छन् । यी तीन जाति राईहरूले बोल्ने भाषालाई पिल्मोङ्ले इरिङ, कुलुङले कुलुरीङ र सोताङले सोत्तोरीङ् भनेर सम्बोधन गर्दछन् । उनीहरूले गर्ने कुलपित्र, पूजाआजा, मृत्युसंस्कार आदिको विधिविधानमा अलिक भिन्नता रहेको पाइन्छ ।
सोताङ, पिल्मोङ र कुलुङ तीन जातिले आआफ्नो उद्गम भूमिको नामलाई जातिको नाम बनाएका छन् जसमा सबैले गर्व गर्ने गरेका छन् । यस सन्दर्भमा एक पक्षले जाति र भाषाको नाम कुलुङ राखेर सबै एकीकृत हुनुपर्छ भन्न थालेको छ ।
तीनैवटा ठाउँको नाम भएकोले भाषा र संस्कृतिको नाम राख्दा ठाउँको नामबाट राख्नु हुँदैन भन्ने पक्षमा सोताङ र पिल्मोङ उभिएका छन् । कुलुङको पहिचानमा सबैलाई गाभिदिँदा जातीय दमनको चपेटामा परेर सोताङ र पिल्मोङको जातीय अस्तित्व समाप्त हुन्छ भनेर उनीहरू कुलुङको विपक्षमा उभिएको देखिन्छ ।
मध्यममार्गीहरू तीनै समुदायको प्रतिनिधित्व हुने भाषा र संस्कृतिको नाम राख्नुपर्छ भन्ने पक्षमा रहेको देखिन्छ । तर पिल्मोङ, सोताङ र कुलुङ तीनै जातिलाई प्रतिनिधित्व गर्ने भाषा र संस्कृतिको नाम के राख्दा उपयुक्त हुन सक्छ ? साझा रूपमा मान्य हुने भाषाको नाम प्रस्ताव गर्दा कस्तो नाम सबैलाई स्वीकार्य हुन्छ ? सबैलाई प्रतिनिधित्व गर्ने भाषाको नाम खुलाएर कसैले प्रस्ताव गर्न सकिरहेको छैन ।
भिन्नाभिन्नै पुर्खाका सन्तानहरू रावाखोलाबाट आएर सोताङमा बसोबास गर्नेको सन्तान सोताङ भए, कुलुङमा बसोबास गर्नेको सन्तान कुलुङ भए र पिल्मोङमा बसोबास गर्नेको सन्तान पिल्मोङ भए । मिल्दोजुल्दो भाषा बोल्ने पुर्खाहरू होङ्गु उपत्याकाभित्रको बेग्लाबेग्लै ठाउँमा बसोबास गरेर विकास भए पनि उनीहरूको साँध–सीमाना जोडिएको हुनाले आपसमा एकअर्काको प्रभाव परेको छ, जसले गर्दा तीनै जातिको सामाजिक रहनसहनमा त्यति असमानता रहेको पाइँदैन ।
भाषिक र सांस्कृतिक रूपमा नजिक देखिए पनि उनीहरूको पहिचानमा भने भिन्नता देखिन्छ । उनीहरूले पूजाआजा र संस्कार–संस्कृति सम्पन्न गर्दा पुकार गर्ने ठाउँका नामहरू फरक हुने गर्दछ । भूमि पनि फरक–फरक रहेको पाइन्छ । एक जातिको व्यक्तिलाई अर्को जातिको भूमिमा प्राकृतिक स्रोत उपभोग गर्नको लागि सदस्यता दिने गरिएको छैन । यस प्रथाले सोताङ, कुलुङ र पिल्मोङलाई एउटा पुर्खाको सन्तान तथा एउटा जाति नभएको पुष्टि गर्दछ ।
जमीन साटासाट गरेको प्रसङ्ग तथा कुलुङकी चेली खप्दुछेमलाई विवाह गरेका कारण ज्वाइँ छाम्पानामलाई वास्दोउ भूमि दाइजो दिएको इतिहासले सोताङ र कुलुङका पुर्खाहरू फरक भएको स्पष्ट हुन्छ । पिल्मोङ, सोताङ र कुलुङ तीनै जातिको पुर्खा फरक भए पनि परस्परमा जातीय सद्भाव र सम्मान विगतका पुर्खाहरूले कायम गरिआएको इतिहास साक्षी छ । तीन जातिका पुर्खाहरूले सृष्टिकालमा स्वविवेकले सद्भाव स्थापना गरेका थिए । त्यस सद्भावले आजपर्यन्त निरन्तरता पाइरहेको छ ।
भावी पुस्ताको लागि पनि यो ऐतिहासिक सद्भाव खल्बलिन दिनु नहुने सन्देश सबैलाई छर्नुपर्दछ । तीन जातिको पहिचानलाई समानान्तर विकास गरेर लैजान आपसमा एकले अर्काको अस्तित्व स्वीकार गर्नुको विकल्प छैन । कुलुङ, सोताङ र पिल्मोङको भाषामा तात्विक फरक नभएकोले सबैलाई समेट्ने नाम राखेर भाषाको छत्रछायाँभित्र तीनै जातिले आ–आफ्नो अस्तित्व जगेर्ना गर्नु आवश्यक छ ।
कुलुङ, सोताङ र पिल्मोङले बोलचाल गर्दै आएको भाषा कसैको एकलौटी होइन भन्ने देखिन्छ । यी तीन जातिको संस्कृतिमा थोरबहुत भिन्नता रहेको पाइन्छ भने जाति विकाससम्बन्धी इतिहास जोड्न चाहिँ किरातकाल नै पुग्नुपर्ने देखिएको छ । यसरी पहिचान भिन्न देखिए पनि भाषाले तीन जातिको सम्बन्ध नजिक तुल्याइदिएको छ ।
‘एक भाषा बहुजाति’को अवस्थालाई सबैले शिरोपर गरेर आ–आफ्नो इतिहास, संस्कृति र पहिचान संरक्षण गर्नु आजको आवश्यकता हो । सोताङ, पिल्मोङ र कुलुङले आदिमकालदेखि संयुक्त रूपमा प्रयोग गर्दै ल्याएको भाषालाई यथास्थितिमा राखेर साझा मान्यता दिनु वस्तुगत यथार्थ हो ।