सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले आगामी असार १० गते बजेट सार्वजनिक गर्ने भएको छ । टोल र बस्तीहरुको सुझाव र आवश्यकताका आधारमा योजना तर्जुमा गरि बजेट निर्माणलाई अगाडी बढाउने उद्देश्यसहित गाउँपालिकाले शुक्रबार बजेट क्यालेन्डर समेत सार्बजनिक गरेको छ ।
आर्थिक बर्ष २०७८÷०७९ मा स्वास्थ्य, शिक्षा, पुर्वाधार विकास, रोजगारी साथै गाउँपालिकाका गौरवका आयोजनाहरुलाई मुख्य प्राथमिकतामा राख्ने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
अध्यक्ष राईलका अनुसार आगामी आर्थिक वर्षको बजेट निर्माणको औपचारिक सुरुवात भोली हुनेछ । बजेट क्यालेन्डर अनुसार आईतवार राजश्व परामर्श समितिको बैठक बस्ने कार्यतालिका छ । संघीय सरकारबाट यस वर्ष जिल्लाका ७ पालिका मध्ये थुलुङ दुधकोशीले सबैभन्दा बढी रु.३६ करोड ८९ लाख बजेट प्राप्त गरेको छ ।
यसैगरी असार २ गते स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक बस्ने छ भने ३, ४ र ५ गते वस्ती टोल स्तरबाट योजना छनौट गरिने गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।
बजेट कार्यतालिका अनुसार ६ र ७ गते वडास्तरीय योजना प्राथमीकिकरण, ८ र ९ गते एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा गरिने छ । असार १० गते गाउँसभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने अध्यक्ष राईले बताउनुभयो ।







