भ्रष्ट र असक्षम नेतृत्वका कारण मर्दैछन् जनता

प्रकाश कुमार कार्की-
नेपाली समाज भ्रमपीडित समाजको हो । हामीले बारम्बार आफैले आफूलाई भ्रमको जालोमा हाली राखेका छौ । कयौं संघर्ष, बलिदानबाट हामीले आफ्नो भ्रमलाई क्षणिक मुक्त गराएता पनि फेरि अर्को भ्रमको जालोमा हामीले फेरि आफूलाई पारि राखेका छौं ।

२००७ सालदेखि नेपालीहरुले कयौं फेरिएका व्यवस्था अनि फेरिएका व्यवस्थाले दिलाई दिएको सरकार र जनप्रतिनिधिका नाममा मुलुकको विकास अनि समृद्धिलाई लेखाजोखा गरी अब त के होला भन्ने अपेक्षा गरिनै रहेका थिए ।

तर जुनै व्यवस्था हुनु वा जुनै जनप्रतिनिधिबाट वास्तवमा नै नेपालीहरूको स्वाभिमानले उच्च हुने, मुलुक विकास अनि समृद्धिको यात्रामा लम्कने त्यो सपना मात्र भ्रम रहिरह्यो । व्यवस्था परिवर्तन हुँदा वा कुनै पात्र परिवर्तन हुँदा त्यो भ्रमको जालोले मुक्त नपाउनेका पछाडि व्यवस्था मात्र पर्याप्त होइन, परिवर्तित पात्र मात्र होइन रहेछ । व्यवस्था अनि व्यवस्थासंगै परिवर्तित भएका पात्र, जनप्रतिनिधिहरूको इमानदार र सक्षम नेतृत्व नै प्रधान रहेछ । जुन भ्रमलाई आजसम्म पनि नेपालीहरुले चिर्न नसक्नु नै वर्तमान नेपालीहरूको अवस्थालाई लिनसक्छौ ।

पद्धति, पारदर्शीता इमान्दारी र उत्कृष्टताको जगमा नउभिएका जनप्रतिनिधिहरुलाई जनप्रतिनिधिका रूपमा उभ्याउनुनै हाम्रो पटक–पटकको ती तमाम भ्रमका कारकका रुपमा लिन सक्छौं । जनताको जनमतको प्रतिनिधित्व गर्ने भएरै जनप्रतिनिधि भनिएको हो । जनविकास, जनबिश्वास को मार्गचित्र कोर्ने अधिकार र सामथ्र्य राख्ने अधिकार जनताबाट प्राप्त गरेका हुन्छन्, जनप्रतिनिधिहरुले ।

जनप्रतिनिधिहरूको काम कर्तव्य भनेकै जनताको आवाजलाई बुलन्द गदै, शान्ति र समृद्धिको यात्रामा सेतु भइ अग्रणी भूमिका निर्वाह गर्नु हो । तर बिडम्बना नेपालीहरूको यो सपनामा पनि कयौं जालाहरु लागी परेका छन् । हरेक निर्वाचनमा खसालिएका त्यो मतसँग आफ्ना अनेकौं सपना सिंगारिएका हुन्थे । आफ्नो पिरमर्का बुझ्ने आफ्ना आँखामा रसाएका ती आशँुका ढिक्का पुछ्ने त्यो जनप्रतिनिधिको खोज संगै तीनका सुकेका ओठमा केही प्रतिशतको हासो क्षणिक भएपनि देखाउने गर्थे । हरेक निर्वाचनमा नयाँ आशा अनि नयाँ विश्वासका साथ आफूलाई त्यो भ्रमबाट मुक्त गराउन खोजिने रहेका हुन्थे ।

यिनै जनप्रतिनिधिबाट संचालित सरकारलाई जनताको आफ्नो सरकार अनि आफ्नै शासन पनि भन्ने गरिन्छ । यी जनप्रतिनिधिहरुको जनताको सुख दुःखमा महत्वपूर्ण भूमिका रहन्छ । वास्तवमा नै भन्नुपर्दा जनप्रतिनिधि र जनतामा नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्छ ।
तर विडम्बना आज यिनै जनप्रतिनिधिहरुका कयौं तिनका आपाच्य क्रियाकलापबाट जनता आजित भइसकेका छन् । एक पटक होइन पटक पटक यीनै जनप्रतिनिधिहरु माथि कयौं भ्रष्टाचारको आरोप लागिराखेका छन् । आरोपित कतिपयका भ्रष्टाचार प्रमाणित भएर सजाय सम्म काटिरहेका छन् भने कतिपयका मुद्दा न्यायालयमा विचाराधिन अवस्थामा छन् । जनताका रगत, पसिनाबाट तिरेको कर मात्र यिनलाई भ्रष्टाचारको होली खेल्नका लागि जस्तो कयौं जायजेथा बटुल्न जस्तो अनि पटकपटक जनतालाई तिनका जीवनमा दुःखको रास दिलाउनका लागि जस्तो ।

कुनै जमानामा नेपाल, जापान, चीन, दक्षिण कोरिया लगायतका धेरै राष्ट्रका सामाजिक आर्थिक र राजनीतिक अवस्था लगभग एउटै थियो । तर आज केही दशकको अन्तरालमा नेपाल बाहेक ती राष्ट्रहरु दिनप्रतिदिन विकसित हुँदै विश्वको एक शक्तिशाली राष्ट्रका रुपमा स्थापित भए । ती राष्ट्रहरुलाई कुनैबेला नेपालले अनुदान स्वरुप गहुँ, चामल लगायतका खाद्यान्न पठाउने गथ्र्यो तर आज परिस्थितिमा फरक छ ।
आज ती राष्ट्रहरुले हाम्रो लाखौंलाख श्रमशक्तिलाई उचित मूल्य दिलाई राखेका छन् भनि वर्षेनि करोडौं रकम विभिन्न शीर्षकका नाउमा नेपालको समुन्नत बिकासका लागि हामीलाई अनुदान प्रदान गरी राखेका छन् । ती तमाम राष्ट्रमा यस्ता चमत्कारका पछाडि कुनै दैवी शक्तिको हात रहेको पक्कै होइन । तीनका पछाडी ती राष्ट्रमा चुनिएका जनप्रतिनिधिहरूको काम, लगाव परिश्रम, अनुशासन र जनसेवा प्रतिको अहम भुमिकानै प्रधान हो ।

वास्तवमा नै राष्ट्रलाई सामाजिक, आर्थिक र राजनीतिक रुपमा तहसनहस पार्ने कि दिगो विकासको रोड्म्यापमा पुर्याउने भन्ने प्रमुख भूमिका त्यहाँ निर्वाचित जनप्रतिनिधिहरुमा निर्भर हुने गर्दछ । खराब भ्रष्ट जनप्रतिनिधिका हातमा हिरानै दिएतापनि उसले ढुङ्गा बनाइदिन्छ तर असल, सक्षम जनप्रतिनिधिका हातमा ढुङ्गा नि दिएतापनि उसले हिरामा रुपान्तरित गरिदिन्छ ।

जसको ज्वलन्त उदाहरण हाम्रो देश नेपाल हो । एउटै हैसियत भएका राष्ट्रहरूले आज विश्व मानचित्र लाई आफ्नो इशारामा राख्न सक्ने हैसियत बनाई सक्दा पनि नेपाल संसारको गरिब राष्ट्रका सूची भित्रबाट बाहिर निक्लन सम्म सकेको छैन । नेपाल राज्यको आजको यो अवस्था हुनुको पछाडि यहाका जनप्रतिनिधि, भ्रष्टाचार र कुशासननै प्रमुख हो ।

जनताका जनप्रतिनिधिहरुका करोडौं सम्पत्ति तिनका घर–घडेरी, गरगहना, मोटरगाडी आदिइत्यादि वास्तवमा नै तिनका आयस्रोत र तलब भत्ता बाट कल्पनै गर्न नसकिने खाल्को देखिन्छ । यो हुनुमा जनप्रतिनिधिहरु जनताप्रति कतिको जवाफदेही छन र तिनका काम कर्तव्य प्रति कतिको जिम्मेवारी छन भन्ने प्रष्ट देखिन्छ । जनप्रतिनिधिका नाममा घुस खानु, कमिसनको बार्गेनिङ गर्नु, जताततै अनियमिता गर्नु नै प्रदान धर्म रहेको तिनमा हामी पाउँछ । सिधा अर्थमा तिनले जनतालाई प्रष्ट धोका दिइ राखेका छन् ।

हिजो सुकुम्बासीमा बस्ने ती व्यक्तिहरु जनप्रतिनिधि भएपछि आलिसान महलमा बस्ने भएका छन् । कयौं ठेक्कापट्टाका मालिक भएका छन् । तिनको जीवनस्तरमा परिवर्तनको क्षेनिक समयमा आकाशजमिनको फरक देखापरेका छन् । कसरी हुन्छ त्यो जनप्रतिनिधीको कुर्सीलाई आफ्नो पोल्टामा राखी राख्न चाहन्छन् । जनप्रतिनिधीको बलमा राज्यको ढुकुटीलाई सजिलैसँग दोहन गर्ने तमाम जनप्रतिनिधिहरूको एकमात्र लक्ष्य हुन्छ । उदाहरणका लागि वर्षौंदेखि पुलका जगहरु यथास्थितिमा रहिरहेका छन् । शिलान्यास गरिएका ती त्यही लम्पसार भएर सुतिरहेका छन् । कयौँ ठेकदार बेपत्ता छन्, कारण जनप्रतिनिधि । अझ कतिपय ठेकेदार कम्पनी जन्माउने कामै नै जनप्रतिनिधिका कोखाबाट हुन्छ । खयर बर्षौ देखि विभिन्न रुपमा देखिएका जनप्रतिनिधिहरु मात्र यो गर्छु त्यो गर्छौं भन्दै हामीबीच अफवाह फैलाउँदै आफ्नो दुनो सोझ्याउने र पोल्टा भर्ने काममात्र गरिरहेका छन् । विगत देखि वर्तमान सम्म ।

यिनले शासनसत्ताको चरम दुरुपयोग गरी, मात्र आफ्नो व्यक्तिगत विकास गरिरहेका छन् । यिनीहरु जनताको सेवक भएर देखिनुपर्ने ठाउँमा शासक बनिरहेका छन । यिनका बोलिने भाषाशैलीमा तानाशाहको प्रवृत्ति लाग्दै जनतामाथि एकदमै शोषण र अन्याय गरिरहेका छन् । यिनकै कारणले वास्तवमा नेपाली जनता अभाव, दवाव र प्रभावमा बाँच्न बाध्य भएका छन् ।

मुलुकमा जे भइरहेको छ यिनकै कारण भइरहेको सत्यता नै अटुट हो । आज देश कोरोना भाइरसको संक्रमणले आक्रान्त छ । दिनहुँ दिन सयौंका संख्यामा मानिसहरुले स्वास्थ्य उपचारका क्रममा सामान्यभन्दा सामान्य उपचारका बिधि नपाएर ज्यान गुमाउनु परिरहेको छ । मरेका व्यक्तिहरूको जलाएको त्यो आर्यघाटको रापले एकपल पनि सेलाउन पाएको छैन । हजारौंको संख्यामा संक्रमण बढिरहेको छ ।

जारौले हस्पिटलमा बेड नपाएर बिरामीलाई एम्बुलेन्समा राखी काठमाडौंको निजी देखि सरकारी अस्पतालको गेटगेटमा पुगी बिन्ती चढाइरहेका छन् । उता अक्सिजन नपाएर आफ्नै अगाडि आफ्ना आफन्तहरुले प्राण त्यागी राखेको हृदयबिदारक अवस्था छ । लकडाउनका कारण ती गरिब र निमुखा खाना नपाएर बसिरहेको अवस्थामा छन् ।

आज यतिका बिकराल अवस्था मुलुकमा हुँदैगर्दा के यसको नैतिक जिम्मेवारी कसको जनप्रतिनिधीको होइन ? कोभिड–१९ को दोस्रो लहरको संक्रमणले दिनप्रतिदिन भयावह अवस्थामा पुगिसक्दा, हिजो सामान्य अवस्थामा जनप्रतिनिधिहरुले खै के गरे त ? सामान्य अवस्थामा यी जनप्रतिनिधिहरु अलिकति सम्म पनि संबेदनसिल भइदिएको भए सायद यो अवस्था हाम्रो नियन्त्रणभन्दा बाहिर पक्कै रहँदैन थियो होला । हिजोको कोभिड –१९ को पहिलो चरणमा जनप्रतिनिधिहरु बाट केहि आ–आफ्नो क्षेत्रमा पहल कदम चालिएता पनि त्यो सन्तोषजनक थिएन ।

स्थानीयतहले क्वारेन्टाइन, अस्थायी कोभिड अस्पताल र आइस्वलेसनको व्यवस्था गरेको थियो । समाजमा कुनै व्यक्तिमा कोभिड –१९ को लक्षण देखापरेमा उसलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको थियो । कतै कोभिड– १९ को संक्रमण देख्नासाथ त्यस ठाउँमा सिल गरि कन्ट्राक ट्रेसिङ गर्ने गराउनको लागि त्यससँग सम्बन्धित विज्ञको टोलीलाई परिचालन गरिन्थ्यो । विदेशी मुलुकबाट फर्केका नेपालीहरूको लागि अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था गरी उसलाई पिसिआर चेकजाँच गरी घर फर्काइने, जुन तत्कालीन व्यवस्था गर्दा गर्दै पनि कयौंले कोभिड–१९ को सिकार हुनु पर्यो । कोभिड –१९ हामीले सोचेभन्दा बाहिरि नियन्त्रणमा गयो । तर आज पनि उही जनप्रतिनिधि छन् । उनैको व्यवस्था छ त हिजोका दिनमा भएसम्मका गतिविधिहरु किन हुनसकेन एक प्रश्न ?

कोभिड–१९ बाट बच्नका लागि हिजोका दिनमा गरिएका पूर्वतयारीका विधिलाई यो दोस्रो चरणमा झन तीव्र रुपमा अगाडि बढाउनुपर्ने हो । हिजोका कमीकमजोरी बाट सिक्दै झन प्रभावकारी तवरले अगाडि जानुपर्ने ठाउँमा हाम्रा जनप्रतिनिधि आफुलाइ लाचारी रुपमा प्रस्तुति गराइरहेका छन् । एक दुई जना जनप्रतिनिधि बाहेक अधिकांशको यस्तै रहेको छ । यस्तो महामारी आउँछ, नामै त महामारी हो भनेर पन्छिन खोज्दैछन् ती तमाम जनप्रतिनिधिहरु ।

यो स्वास्थ्य जगत् भित्रको एउटा नमुना मात्र हो कतिसम्म ध्वस्त अवस्थामा रहेको रहेछ हाम्रो मुलुकको स्वास्थ्य क्षेत्र ?

अक्सिजनको अभाव भयो, अक्सिजन बनाउन थाल्ने, माक्सको अभाव भयो, माक्स खरिद गर्न थाल्ने, अस्पतालमा बेडको अभाब भयो बेड बनाउन थाल्ने आदि इत्यादि ।

अभावपछिको कार्यलाई पूर्णतामा पुर्याउनेबोला सम्म कयौंले आफ्नो जीवन गुमाइसकेका हुन्छन । त प्रश्न स्वास्थ्य क्षेत्र अनि सबै एउटा सिस्टममा चलिनुपर्ने होइन ? हिजोका दिनमा तमाम जनप्रतिनिधिहरुले सिस्टमलाई अनुसरण गर्दै आफूलाई पनि सिस्टम भित्र राखेर कार्य गरेको भइदिएको भए सायद यो अवस्थाको मुलुकले सामना गरिराख्नु पर्दैन थियो होला ।

यो त एउटा उदाहरण मात्र हुन् यस्ता हजारौँ छन् । कोभिड–१९का कारणले मृत्यु व्याप्त बढिरहेको बेलामा महाव्याप्तीलाई रोकथामका निम्ति आयात गरिएका औषधिजन्य वस्तुमा चरम घोटाला हुन्छ त्यो पनि हामीलेनै भोट दिएर पठाएका जनप्रतिनिधीबाट त्यासो हो भने ती हाम्रा जनप्रतिनिधिबाट अब के आशा गर्न सक्छौ ? यिनकै कारण हाम्रो सामाजिक, आर्थिक र राजनीतिक अवस्था पुरै तहसनहस बनिरहेको छ । यस्तो महामारीमा जनस्तरबाट चौतर्फी सहयोग गरिराखेका, यस्ता सहनशीलताको खानी बोकेका जनतालाई महामारीबाट बचाउन, जोगाउन पुरै दत्तचित्त भएर लाग्नु जनप्रतिनिधिहरुको जिम्मेवारी होइन र ? तर बिडम्बना यिनका ध्यान यिनै पद पावर र सत्ता लिप्तमा मात्र केन्द्रित रहेको हामी पाउँछौ । मात्र व्यक्ति लाभमा लागिएको । हिजोका जनप्रतिनिधिहरु पनि त्यही हो ! आजका जनप्रतिनिधिहरुको पनि त्यही हो ! जनताले भोट दिन्छन् आश गर्छन् फेरि त्यहि हो ! जुन आज प्रष्ट भएका छन् ।

यिनका भ्रष्ट र असक्षमतानै आजको बिकराल अवस्था हो । आजको यो अवस्था आउनुमा स्रोतसाधनको कमीले मात्र यो अवस्था आएको पक्कै होइन । राज्यस्तरबाट व्यवस्थापनमा कौशल नहुँनु यसको प्रमुख कारण हो । यिनले राज्य र जनताका विषयमा केही समयमात्र संवेदनशील भई दिएको भए सायद यो अवस्था आउँदैन थियो होला । असक्षमताका नमुना त कयौं हाम्रा स्थानीयस्तरका प्रमुखहरुले एउटा बेड सम्म उपलब्ध गराउन नसकेका तिनका कयौं फेसबुक स्ट्याटस बाट पनि छर्लङ्ग भएको छ ।

जनता अप्ठ्यारो परेमा कयौँ जनप्रतिनिधिहरुले आफ्ना मोबाइल नम्बर उपलब्ध गराएका सामाजिक सञ्जालमा देख्न पाउँछौं । दुखःसुखमा हामिलाई सम्झिनुस् भनेर ।

तर बिडम्वना दिनको सयौं चोटी कल गर्दा पनि ती मोबाइल फोन पटक्कै उठ्दैन ।

जुन वास्तविकता हो हाम्रा जनप्रतिनिधिहरूको छेपारो प्रवृत्तिको । जनप्रतिनिधिहरुले आफ्नो दायित्व र जिम्मेवारी प्रति खाली उदासीननै रहिरहे । तै पनि यस्तो महामारीमा मानवीयताको सामान्य नियमले गर्दा आशा थियो, कि पक्कै केही गर्छन् भन्ने तर यस्तो विषम परिस्थितिमा पनि संविधानको धज्जी उडाउँदै, जनमतको अपमानको पराकाष्टनै नगाए ।

सबै जना को सत्तापक्ष को प्रतिपक्ष, को शत्रु को मित्रु नभनेर मात्र कोरोनाविरुद्धमा केन्द्रित देखिनुपर्ने थियो । तर यिनीहरु आन्तरिक लडाइँ र सत्ता हत्याउने खेलमै निर्लज्जका साथ देखापरिनै रहिरहे । आज मुलुकमा रहेका बिधमान जनप्रतिनिधिहरुको क्रियाकलापले मुलुक वास्तवमै जनप्रतिनिधिविहीन भएको छ । भौतिक शरीरको उपस्थितिलाई मात्र जनप्रतिनिधि भन्ने हो भने मेरो भन्नु केही छैन । जनताप्रति उत्तरदायी बन्न नसकेको जनप्रतिनिधिहरुको पलपल गरि नेपाली जनताले यिनलाई नै पूर्ण भोग्नुपर्ने अवस्था, जुन नेपाली जनताको लागि ठूलो अभिसाप बनेको छ ।

आजित हामीले गद्दाफीको समाचार पक्कै सुनेका छौं । गद्दाफीको इतिहास पनि पक्कै पढेका छौं । हाम्रो सहनशीलताको बाधँ नभत्काउ, भत्किएमा सम्हाल्न गाह्रो हुन्छ । जनप्रतिनिधिहरुबेलैमा सुध्रिनु पर्छ । तिम्रा जनताप्रतिको अभिभारा पूरा गर्नै पर्छ नत्र गद्दाफीको जस्तो इतिहास हाम्रै अगाडि फेरि दोहोरिन सक्छ ।
चेतना भया ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार