सोलुखुम्बु : एकै टोलका २४ जना सहित ३६ संक्रमित थपिए, कुल संख्या ११९ पुग्यो

जिल्लाका सबै स्थानीय तहको सेवा बन्द

सोलुखुम्बु : माप्यदुधकोशी गाउँपालिकाको एउटै टोलका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज गाउँपालिकाले ७४ जनाको एण्टिजेन परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसा वडा नम्बर ३ का सोमबारे बजार क्षेत्रका मात्रै ११ जना पुरुष र १३ जना महिला संक्रमित भएका छन् । एउटै टोलमा यतिका धेरै संख्यामा संक्रमित भएपछि व्यवस्थापनमा चुनौती थपिएको अध्यक्ष राईले बताउँनुभयो । उनीहरुको ट्राभल हिस्ट्री समेत नरहेको बताईएको छ ।

गाउँपालिकालाई पुर्णरुपमा सिल गरि ३ सय जनाको एण्टिजेन परीक्षण गर्ने तयारी गरिएको भन्दै अध्यक्ष राईले कोरोना रोकथाम तथा नियन्त्रण स्थानीय सरकारको क्षमता भन्दा बाहिर रहेको बताउँनुभयो ।

“एकै टोलका २४ जना संक्रमित भेट्नुले गाउँपालिकामा धेरै संख्यामा संक्रमित रहेको अनुमान छ ।” अध्यक्ष राईले भन्नुभयो, “कोरोना रोकथाम तथा नियन्त्रणका लागि परीक्षणको दायरा बढाउनुको विकल्प छैन तर हामी संग १५ वेडको आइसोलेसन र ५ वेडको कोभिड अस्पताल भएपनि यो पर्याप्त नहुने रहेछ ।”

भोलि वडा नम्बर २ को खालि मा.वि.मा परीक्षण गरिने बताइएको छ । गाउँपालिकाले ३ सय जनाको एण्टिजेन गर्ने अध्यक्ष राईले बताउँनुभयो । भोलि बिहिबार बिहान कार्यपालिका बैठक बसेर कोभिड रोकथाम तथा नियन्त्रण सम्बन्धि थप निर्णय गरिने अध्यक्ष राईले बताउँनुभयो ।

यस्तै आजै खुम्बुपासाङ ल्हामु गाउँपालिकाका ४ जना महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार चार जनाको एण्टिजेन गरिएकोमा सबैको रिपोर्ट पोजेटिभ आएको हो ।

यस्तै जिल्ला अस्पताल फाप्लुमा ११ जनाको एण्टिजेन परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन रामकुमार विश्वकर्माले जानकारी दिनुभयो । सोलुदुधकुण्ड नगरपालिका, नेचा सल्यान र थुलुङ दुधकोशी ठेगाना भएकाहरुमा कोरोना पुष्टि भएको उहाँको भनाई छ ।

यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ११९ पुगेको छ । ४ जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहको सेवा बन्द
जिल्लाको सबै स्थानीय तहले अतिआवश्यक बोहका सबै सेवा बन्द गरेका छन् । थलुङ दुधकोशी गाउँपालिकाले २८ गतेबाट गाउँपालिकाबाट प्रवाह गर्ने अत्याअवश्यक बाहेकका सबै सेवा बन्द गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो । कोरोनाको जोखिम उच्च रहेकाले २८ गते बिहान देखि जेठ ५ गते सम्मको लागि सेवा बन्द गरेको भन्दै गाउँपालिकाले सार्वजानिक सूचनानै जारी गरेको छ ।

यस्तै खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पनि त्याहाँ कार्यरत कर्मचारीमा शंकास्पद लक्षण देखिएकाले अति आबश्यक बाहेक अन्य सबै सेवा अनिश्चित कालका लागी बन्द गरेको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।

यता लिखुपिके गाउँपालिकाले पनि अतिआबश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । छिमेकी जिल्ला रामेछापको उपाकुण्ड गाउँपालिकामा कोरोना संक्रमित भेटिएकाले सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले जानकारी दिनुभयो ।

वडा नम्बर २ को सल्यानका २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेचासल्यान गाउँपालिकाले पनि आफ्नो सेवा बन्द गरेको छ । माप्यदुधकोशी, महाकुलुङ र सोताङ गाउँपालिकाले पनि आतिआबश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार