काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनु भएको हो ।
२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएको प्रवक्ता गौतमले जानकारी दिनु भयो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।







