काठमाडौं उपत्यकामा आज बिहानबाट निषेधाज्ञा

काठमाडौं : उपत्यकामा आज बिहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो ।

कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै जिल्लामा एकसाथ निषेधाज्ञा जारी गरिएको हो । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहनेछ । त्यसपछि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरू विहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र संचालन अनुमति पाएका गाडीहरू फाट्टफुट्ट संचालन भएका छन् । विवाह, व्रतबन्ध लगायतमा बेहुला–बेहुली पक्षका गरी बढीमा १५ जना सहभागी हुन पाइनेछ । विवाह–व्रतवन्धका लागि स्थानीय तहको सिफारिश अनुसार जिल्ला प्रशासन कार्यालयले पास उपलब्ध गराउने छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा बढीमा दुई कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका सवारीसाधन सञ्चालन गर्न पाइनेछ । एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, कुरिअर, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायत ढुवानी तथा यातायातका साधनमा सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाले सम्बन्धित मन्त्रालय वा विभागबाट जारी पास लिएर सवारीसाधन प्रयोग गर्न पाउने छन् । विकास निर्माणमा प्रयोग हुने जनशक्ति र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने पास लिएर सञ्चालन गर्न पाइनेछ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार